
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रूपैयाँ बराबरको ३० प्रतिशत दरको ३ करोड कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । सर्वसाधारणमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा ३० लाख कित्ता आईपीओ विक्रीमा आउने भएको हो ।
पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये सामूहिक लगानीकोषका लागि १५ लाख कित्ता , कर्मचारीका लागि ६ लाख कित्ता बाँडफाँट हुनेछ भने २ करोड ४९ लाख कित्ता आईपीओ भने दोसे चरणमा सार्वजनिक निष्कासनमा आउनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा कम्पनीको आईपीओ मंसिर ५ गतेसम्म विक्रीमा रहनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रुपमा यो कम्पनी भित्रिन लागेको हो । यस अघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ । यो कम्पनी २०७८ साल असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेको छ ।
अधिकृत पूँजी २१ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रूपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रूपैयाँ छ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस