aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ कार्तिक २०८०
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणमा बाँडफाँट

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कात्तिक ३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणमा असोज १८ देखि २२ गतेसम्म १२ लाख ८४ हजार २०० कित्ता आईपीओ बिक्री गरेको थियो ।  

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ११ लाख ८५ हजार ६४२ जनालाई बाँडफाँटमा सहभागी गराई १ लाख २८ हजार ४२० जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

विक्री प्रबन्धकका अनुसार कुल ११ लाख ९० हजार २९६ जनाले कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका थिए । रितपूर्वक नभएको भन्दै ४ हजार ६५४ जनाको आवेदन रद्द गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । आफ्नो जारी पूँजी १ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । 

कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा यस अघि बाँडफाँट गरिसकिएको हो । स्थानीयका लागि छुट्याएको १० लाख कित्ता आईपीओमध्ये विक्री हुन नसकेको ९ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा थप गरि विक्री गरिएको छ । यी वाहेक सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ बाँडफाँट गरी बाँकी आईपीओ सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

यो कम्पनी २०६९ साल साउन ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत  १७ करोड ४८ लाख २५ हजार १७४ रूपैयाँ रहेको छ । २०६९ साल पुस २० गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेकाले विद्युत उत्पादन अनुमति पत्र २१०७ साल फागुन २६ गतेसम्म वहाल रहनेछ । 

यो कम्पनीको अधिकृत पूँजी २ अर्ब १० करोड रूपैयाँ छ भने जारी पूँजी १ अर्ब रूपैयाँ मात्र छ । हाल संस्थापक तर्फ ७० करोड रूपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीमा सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्तापूँजी १ अर्ब रूपैयाँ कायम भएको छ । 

कुल चुक्तापूँजीमा संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम भएको छ । आईपीओबाट संकलित पूँजी आयोजना निर्माणका लागि भएको खर्च व्यवस्थापनमा प्रयोग गरिने जानकारी कम्पनीले दिएको छ ।

व्यापारिक उत्पादन भैनसकेको यस कम्पनी हाल सञ्चित नोक्सानीमै रहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ४६ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनी आर्थिक वर्ष ०७७÷७८ मा १ करोड ४२ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको थियो ।

आर्थिक वर्ष ०७८/७९ सम्म भने कम्पनीको सञ्चित नोक्सानी २ करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४ करोड ६१ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षभित्र भने कम्पनीको सञ्चित नोक्सानी ४ करोड ११ लाख रूपैयाँभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रूपैयाँ १४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस