
काठमाडौँ । पुष्प व्यवसायीहरुबीचमा पनि विवाद भएको छ । यो वर्षको तिहारका लागि आयोजना गरिने पुष्प मेला विवदाका कारण काठमाडौँ उपत्यकाको दुई स्थानमा लाग्ने भएको छ । ललितपुरको जावलखेल खेल मैदान र काठमाडौँको भृकुटीमण्डप पुष्प मेला लाग्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) जनाएको छ । उक्त प्रदर्शनी कार्तिक १४ देखि १८ गतेसम्म सञ्चालन हुने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान ) अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।
फ्यानले लालितपुरमा र नयाँ गठनको तयारीमा रहेको नर्सरी व्यवसायी संघ नेपालले भृकुटीमण्डपमा पुष्प मेला आयोजना गर्न लागेको छ । विगत १६ वर्षदेखि फ्यानले तिहार लक्षित पुष्प मेला सञ्चालन गर्दै आएको छ । तर यो वर्ष अर्को पक्षले छुट्टै मेला सञ्चालन गर्न लागेको हो ।
फूल उत्पादक किसान र नर्सरी व्यवसायीलाई प्राथमिकता नदिएकाले अर्को पुष्प मेला सञ्चालन गर्न लागिएको नयाँ दर्ताको प्रक्रियामा रहेको नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी तिमिल्सिना छन । हालको एशोसिएसन नेपाल (फ्यान)बाट १३ जना व्यवसायी अलग भएर नयाँ संगठन खोल्ने तयारीमा रहेका छन् ।
यता फ्यानले भने अर्को पुष्प मेला आयोजना गर्नु संस्था विरोधी कार्य रहेको आरोप लगाएको छ । फ्यानका अध्यक्ष तामाङले आफूहरुले आयोजना गर्ने मेला आधिकारिक भएको बताए । देशभरीका पुष्प व्यवसायीहरुको साझा संस्था फ्यान भएको र पुष्प व्यवसायीहरुको हकहितमा काम गरिरहेको अध्यक्ष तामाङले बताए ।
मेलामा फूल सम्बन्धी बिउ, मल, बिषादी, गमला, उपकरण लगायत वस्तु उपलब्ध हुने जनाइएको छ । हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको एशोसिएशनका अध्यक्ष तामाङले जानकारी दिए । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ ।
मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अवस्था छ ।
कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।
नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । वार्षिक करिब ३ अर्बको फूल र फूलजन्य बस्तुको व्यापार हुने गरेको फ्यानको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस