
काठमाडौं । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैं पनि एक हो । तर खर्चसंगै दशैंको अर्को पाटो आम्दानी पनि हो । घरको सानो सदस्य, नयाँ बेहुला–बेहुली, छोरीहरु र उमेर पाका भएकाहरुले दशैंमा धेरै दक्षिणा पाउने गर्दछन् ।
तर, त्यो दक्षिणा सदुपयोग गर्न भने धेरैले जानेका हुदैनन् । दक्षिणालाई जोगाएर राख्ने मन हुदाँहुदै पनि खर्च भइरहेको हुन्छ । कतिपय अवस्थामा थोरै पैसाको सदुपयोग गरेर कसरी राम्रो ठाउँमा लगानी गर्ने भन्ने ज्ञान नहुँदा फजुल खर्च मै दक्षिणा सकिएको हुन्छ ।
थोरै लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्याउन सक्छ । चाहना भएमा दशैंमा प्राप्त दक्षिणा जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर, त्यसका लागि सानो रकम कसरी र कहाँ सदुपयोग गर्ने भन्ने कुराको अनभिज्ञता तोड्न जरुरी छ ।
बचत गर्ने उपायमध्ये एक हो, शेयरमा लगानी । दशैंमा जम्मा भएको रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । शेयर बजारमा लगानी गर्नका लागि ठुलै पुँजी चाहिन्छ भन्ने पनि होइन । सानो रकमबाट पनि शेयर बजारमा लगानी गर्न सकिन्छ । यसका लागि तपाईहरुले शेयर बजारको बारेमा राम्रोसँग बुझ्न र अध्ययन गर्न भने जरुरी छ । नयाँ कम्पनीहरुले निष्काशन गर्ने साधारण शेयर (आइपीओ)बाट पनि लगानी गर्न सक्नुहुनेछ ।
दशैंपछि धेरै कम्पनीका आईपीओहरु बजारमा आउने तयारीमा रहेकाले तपाईले आफ्नो दशैंको दक्षिणालाई त्यसैमा लगानी गर्न सक्नुहुनेछ । शेयरमा लगानी गर्नका लागि धेरै रकम पनि नचाहिने भएकाले दशैंमा जेजति रकम जम्मा हुन्छ, त्यसबाटै पनि शेयर किन्न सकिन्छ । सानो रकम अर्थात् एक हजार रुपैयाँबाटै शेयरमा लगानी गर्न सकिन्छ ।
यी कम्पनीको आउँदैछन् दशैंपछि आईपीओ
दशैं पछि विभिन्न कम्पनीहरु आईपीओ निष्काशन गर्ने तयारीमा छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार २० कम्पनीहरूले १४ अर्ब ८३ करोड ५६ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओ निष्कासन हुनेछ ।
आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा औषधि उत्पादक कम्पनीदेखि हाइड्रोपावरसम्म रहेका छन् । पाइप लाइनमा रहेको कम्पनीमध्ये एक हो, डिस मिडिया नेटवर्क लिमिटेड ।
यस कम्पनीले आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्कासन गर्नेछ ।
त्यस्तै, दरमखोला हाइड्रोपावरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता रहेको छ । सान्भी इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आईपीओ ल्याउने भएको छ ।
सेबोनका अनुसार रिचेट जलविद्युत कम्पनीले ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४५० कित्ता, बेनी हाइड्रोपावरको २० करोड ८० लाख बराबरको २० लाख ८० हजार र यम्बलिङ हाइड्रोपावरको २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ बजारमा आउने भएको छ । एपेक्स हस्पिटालिटीले समेत २४ करोड बराबरको २४ लाख कित्ता आईपीओ ल्याउने भएको छ ।
त्यस्तै, मबिलिङ इनर्जी लिमिटेडले १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ ल्याउनेछ भने जगदम्बा स्टिल्सले ६ अर्ब २ करोड १० लाख बराबरको दुई करोड ७० हजार कित्ता र एसवाई प्यानल नेपाल लिमिटेडको ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर बजारमा आउने तयारीमा छ ।
हिमस्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आइएमई लिमिटेड १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्कासनको पाइप लाइनमा रहेको छ भने भुजुङ हाइड्रोपावर लिमिटेडले १४ करोड ५५ लाख रुपैयाँ बराबरको १४ लाख ५५ हजार कित्ता आईपीओ ल्याउने तयारी छ । हिमालयन रि-इन्स्यारेन्सले समेत ६ अर्ब २४ करोड रुपैयाँ बराबरको तीन करोड कित्ता आईपीओ ल्याउने भएको छ ।
रिलायबल स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङबाट आईपीओ ल्याउने भएका छन् । रिलायबल स्पिनिङले सात लाख ७० हजार ६४० कित्ता र सर्वोत्तमले २४ लाख कित्ता आईपीओ ल्याउने भएका हुन् । साथै एक्वर्ड पाराफार्मासिटिकल्स लिमिटेड ७० करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७० लाख ६ हजार ९०९ कित्ता आईपीओ ल्याउन सेबोनको अनुमतिको पर्खाइमा रहेको छ ।
ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता, सानिमा हाइड्रोपावर कम्पनी पनि १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता र कान्तिपुर टेलिभिजन नेटवर्क पनि सात करोड ५० लाख रुपैयाँ बराबरको ७५ हजार कित्ता आईपीओ ल्याउन सेबोनको स्वीकृतिको पर्खाइमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस