aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कागतीमा ढुसी, किसान चिन्तित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ कार्तिक २०८०
कागतीमा ढुसी, किसान चिन्तित

ढोरपाटन (बागलुङ) ।  फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् । 

सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै यहाँका स्थानीय किसान चिन्तित भएका छन् । किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले बताए । 

गवारो रोगले कागतीका बोटको टुप्पो सुक्दै जाने र बोटनै मर्ने गरेको पुन मगरको भनाइ छ । किसानले तत्काल सुक्न थालेका हाँगालाई समयमै काटेर फाले बोट मर्नबाट जोगिने उनले बताए । प्रायः कागतीमा लाग्ने यो रोग समय–समयमा देखा पर्ने हुँदा किसानले प्राविधिक परामर्श लिएर यसको रोकथाम गर्न सकिने उनको सुझाव छ ।

उनले भने, “ढुसी र काण्डको गवारो रोग लाग्दा कागतीका हाँगा मर्ने गर्दछ, यसको रोकथामका लागि किसानहरु पनि सजक हुनुपर्छ । सुक्न थालेका हाँगा बेलामै काट्नुपर्ने हुन्छ । यो समस्या अहिले जिल्लाको निसीखोला र यसको आसपासका ठाउँमा देखिएको छ ।”

निसीखोला गाउँपालिकाका नरबहादुर बुढा मगरले बगैँचामा लगाएको ६० बोटमध्ये ३४ बोट मर्न थालेको बताउनुभयो । टिप्ने बेलाको कागतीका दाना खस्नुका साथै बोटनै मरेको बुढा मगरले बताए । अघिल्लो वर्ष लगाएका विरुवा समेत मर्न थालेको उनको भनाइ छ । दुई वर्षदेखि व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउने उहाँले आफ्नो करिब तीन लाखको क्षति हुने बताउछन ।

“बारीमा छ÷सात वर्ष पहिले लगाएका कागतीका रुख थिए । सुरुमा ती रुखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो,” उनले भने, “यसरी बोटनै मर्दै गए भने त मेरो लाखौँको लगानी डुब्छ, कसरी सुरक्षा दिने होला ?”

स्थानीय पूर्णबहादुर क्षेत्रीले ९० बोटमध्ये ७० भन्दा बढी बोटमा रोग देखिएको बताउनुभयो । आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उनी बताउछन । अघिल्लो वर्ष भने कुनै समस्या नदिएको उहाँको भनाइ छ । 

बागलुङ जिल्लामा हाल ४५ हेक्टर क्षेत्रफलमा कागती खेती छ । पछिल्लो समय कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार हाल जिल्लामा २२ हेक्टर जमिनबाट कागती उत्पादन भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस