aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

वयोवृद्धा बाबुको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेपछि..........

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ कार्तिक २०८०
वयोवृद्धा बाबुको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेपछि..........

गल्याङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल हुनुभएको छ । उहाँद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर  हुमनाथ व्यावसायिक तरकारी खेतीमा लागेका थिए ।

उनले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आएका छन । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उनले फार्मबाट वार्षिक रु १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा रु आठ लाख बचत गर्ने गरेको दाबी गरे । उनले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आएका छन ।

किसान हुमनाथले स्थानीय बजार र पोखरामा यहाँ उत्पादित कृषि उपज बिक्री गर्दै आएका छन । उहाँन आफ्नो छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काममा सरिक बनाउँदै आएका छन ।  “विसं २०६२ मा आइपीएम तालिम लिएपछि व्यवसायलाई अझ व्यवस्थित बनाउँदै अगाडि बढेँ”, उनले भने, “हालसम्म सात जति तालिम तथा प्रशिक्षण लिएको छुु, एक–दुईहप्ते तालिमले भन्दा पनि मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाएजस्तो लाग्छ ।”

पित्लेकमा २६ र खहरेमा १० गरेर उहाँले कुुल ३६ रोपनी क्षेत्रफलमा कृषि व्यवसाय गरे । उनको सात स्थायी टनेल छन् ।  फार्मभित्र जङ्गली जनावर नपसुन् भनेर फलामे तारबारसहित कम्पाउण्ड घेरिएको छ । पानी सङ्कलन गर्ने पोखरी पनि छ । वालिङ नगरपालिका–१ खहरेमा समेत दुईवटा टनेल छन् । उनसँग हातेट्रयाक्टर, पावर स्प्रे, स्प्रेलगायतका आधुनिक उपकरण छन् । उनले गएको वर्ष ५० क्वन्टिल सुन्तला बिक्री गरेर रु तीन लाख, तीन सय किलो कफी उत्पादन गरेर रु ३५ हजार र ९० लिटर मह उत्पादन गरेर रु एक लाख ५० हजार आम्दानी गरेको बताए ।

रु चार लाख लगानीबाट सुुरु भएको हुमनाथको लगानी बढेर अहिले रु २५ लाख पुुगेको छ । “सडकको अभावमा पहिले–पहिले दुई घण्टा लगाएर डोकोमा तरकारी बेच्न त्रियासी पुग्नुपर्ने बाध्यता थियो”, उनले भने, “अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ । हुमनाथले आफूले गरेको व्यवसायबाट सन्तुुष्ट रहेको बताए । “गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बजारमा गाउँको अग्र्यानिक तरकारी भनेपछि खोसाखोस हुन्छ”, उनले थपे, “नाफाघाटा नहेरी बाह्रै महिना तरकारी फलाउने योजनासहित लाग्न सकेमा व्यवसाय टिकाउन सकिन्छ, विस्तारै उत्पादित सामग्रीको पनि उचित मूल्य पाउन सकिन्छ ।”

उनले बाली विज्ञान पढिरहेका विद्यार्थी आफ्नो फार्ममा बसेर अध्ययन अवलोकन गर्ने गरेको जिकिर गरे । “स्याङ्जासहित बाहिरी जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुुहुन्छ, मलाई हौसला दिएर जान्छन”, उनले खुसी व्यक्त गर्नुभयो, “यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको छ ।”

उनले आफूलाई कृषि ज्ञान केन्द्र स्याङ्जाले तरकारी खेती गर्ने जिल्लाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कारका लागि गण्डकी प्रदेश सरकारमा सिफारिस गरेको जानकारी दिए। उनले कषि ज्ञान केन्द्रबाट हालसम्म रु १५ लाख बराबरको अनुदानसमेत पाएका छन । 

छोरा सन्तोषले भारतीय तरकारीले ठूलो ‘भोल्युम’मा तरकारी खेती गर्ने नेपाली किसान मारमा परेको दाबी गरे । “हामीले स्थानीय बजारलाई लक्षीत गरेर ठूलो ‘भोल्युम’मा तरकारी उत्पादन गरेका हुन्छौँ, उत्पादन लागत बढी पर्ने हुँदा हाम्रो तरकारी थोरै महँगो हुन्छ”, हुमनाथले भने, “हाम्रो तरकारी बजारमा पुुग्दा ठीक त्यही समय भारतीय तरकारी सस्तोमा बजारमा आउँछ, अनि नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।”

सन्तोषले सिँचाइका लागि पानी प्रशस्त नभएको गुनासो गरे । हरेक किसानलाई उद्यमीका रूपमा विकास गर्न सरकारसँग उनको माग छ । उद्यमी किसानलाई उद्योगसँग जोड्न सकेमा मात्र कृषि व्यवसाय दिगो हुने सन्तोषको विश्वास छ । किसानलाई उत्पादन किलोका आधारमा अनुदान दिन सकेमा वास्तविक किसान मारमा नपर्ने उनको तर्क छ । हुुमनाथलाई श्रीमती सीता, छोरा सन्तोष, ख्यामराज र सुमन, बुहारी सङ्गीताले काममा सघाइरहेका छन।रासस

प्रतिक्रिया दिनुहोस