aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सोनापुर मिनरल्सको आईपीओ खरीदकर्ताको कति घाटा भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
सोनापुर मिनरल्सको आईपीओ खरीदकर्ताको कति घाटा भयो

काठमाडौं । प्रिमियम मूल्य सहित सर्वसाधारणमा आईपीओ जारी गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका आईपीओधनीहरूनै यतिबेला घाटामा रहेका छन् । बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्रा २३४ रूपैयाँ ८० पैसामा झरेको हो । 

कात्तिक १२ गते आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर कारोबार प्रतिकित्ता ३५० मा खुला भएको थियो । कारोबार खुला भएको दिनदेखि निरन्तर तीन कारोबार दिन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको थियो । चौथो कारोबार दिन अर्थात बुधवार कम्पनीको शेयरमूल्य ७ दशमलव ९९ प्रतिशत घटेको हो ।

कात्तिक २ गते कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको थियो । 

बुधवारको मूल्यलाई आधारमान्दा सर्वसाधारण लगानीकर्ताले गरेको लगानीमूल्य भन्दा कम्पनीको शेयरमूल्य २ रूपैयाँ ७८ पैसा कम भएको हो । उत्पादन तथा प्रशोधन समूह अन्तर्गत धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयरमूल्य आईपीओको मूल्यभन्दा कम आउनुमा घट्दो बजारलाई जानकारहरूले दोष दिएका छन् ।

 लगानीकर्ताहरूले भने नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रिमियममा यो कम्पनीलाई आईपीओ जारी गर्न दिन नहुने तर्क गरेका छन् । दोस्रो बजारमा निरन्तर घटिरहेको अवस्थामा प्राथमिक बजारमा प्रिमियममा आईपीओ खरीद गर्दा जोखिम हुने सम्भावनालाई लगानीकर्ताले औल्याएका हुन । 

बुधवार आईपीओको मूल्यभन्दा कम मूल्यमा कम्पनीको शेयर खरीद गर्न लगानीकर्ता सक्रिय देखिएका छन् । यो दिन सर्वाधिक रकमको कारोबार हुने पहिलो नम्बरमा यो कम्पनीको शेयर परेको छ । नेप्सेका अनुसार कम्पनीको १४ करोड ६० लाख रूपैयाँ बराबरको ६ लाख १६ हजार ७७५ कित्ता शेयर कारोबार भएको छ । 

बुधवार सर्वाधिक रकमको कारोबार भएको दिन यस कम्पनीको शेयरमूल्य २५० रूपैयाँ १० पैसामा खुला भई न्यूनतम २३० रूपैयाँसम्म झरेको थियो । हालसम्म कम्पनीको शेयर कारोबार चार कारोबार दिन भएको छ । 

पहिलो कारोबार दिन २० लाख ४८ हजार रूपैयाँ बराबरको ६ हजार ५४९ कित्ता , दोस्रो दिन ३२ लाख ७९ हजार रूपैयाँ बराबरको ११ हजार ५५७ कित्ता र तेस्रो दिन ६४ लाख ११ हजार रूपैयाँ बराबरको २५ हजार १०९ कित्ता शेयर कारोबार भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस