aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ निष्कासन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ निष्कासन

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख १२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेकोमा १४ लाख २४ हजार ५९० कित्ता मात्र बाँडफाँट गरिएको छ । स्थानीयमा विक्री हुन नसकेको ४ लाख ८७ हजार ९१० कित्ता आईपीओ समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।

आयोजना प्रभावित स्थानीयमा कम्पनीले कात्तिक १ गते र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असोज १५ गते आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ९१ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिएको हो । अब दोस्रो चरणमा ९५ हजार ६२५ कित्ता सामूहिक लगानीकोषका लागि र ३८ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

सर्वसाधारणले यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि  अधिकतम ३ लाख ८० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा कात्तिक २० गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा मंसिर १ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीको आईपीआ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस