
काठमाडौं । युनाइटेड अरब ईमीरेट्स (यूएई) मा श्रमिक आपूर्ति कम्पनी खोलेका भक्तपुर बागेश्वरीका भरत गिरिले नेपाली महिलाहरूलाई त्यहाँ पुर्याएर यौन शोषण गर्ने तथा जीउज्यान बेचबिखन गर्ने गरेको पाइएको छ । पीडित महिलाहरूले उजुरी गरेपछि उनले पारिश्रमिक नदिएको स्वीकारेका छन् ।
यूएईको स्थायी बसोबास अनूमति लिइसकेका गिरि पछिल्लो समय दुबईमा कामदार सप्लाई गर्ने कम्पनी सञ्चालन गरेर बसेका छन् । ‘अभारिका गिरि टेक्नीकल एण्ड क्लिनिड्ग सर्भिस’ को आवरणमा गिरिले श्रमिकका रूपमा दुबई पुर्याएर नेपाली महिलाहरूको यौन शोषण गर्ने र उनीहरूलाई जबरजस्ती यौन धन्धामा लगाउने गरेका हुन् ।
पीडित महिलाहरूले आफूलाई विभिन्न प्रलोभन र दबाबमा पारेर आफूहरूलाई अनैतिक धन्दामा संलग्न हुन गिरिले बाध्य पारेको बताएका छन् । मकवानपुर घर भई चुरियामाई –२ कि रमिता गोले (नाम परिवर्तन) गिरिको शोषणमा परेकीमध्ये एक हुन् ।
गोलेलाई गिरिले दुबईमा आफ्नो कम्पनीमा रोजगारी दिने भनी मोटो रकम असुल गरेका थिए । उनले मासिक २ हजार दिराम तलबको प्रलोभनमा पारेका थिए । दुबई पुगेकी रमितालाई गोलेले ‘आफ्नो कम्पनीमा आउने ग्राहकलाई खुसी पार्नुपर्ने’ भन्दै यौन धन्दा गराउन बाध्य पारेका थिए ।
चरम सीमाासम्म शारिरिक र मानसिक शोषण खेपेपछि गिरिको पञ्जाबाट बल्लतल्ल उम्केर आफू नेपाल फर्किएको रमिताले बताएकी छिन् । नेपाल आएपछि उनले गिरिको वास्तविक धन्दा उजागर गर्दै कारवाहीका लागि नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी निवेदन दर्ता गराएकी छिन् ।
रमिता गोले (नाम परिवर्तन) ले भरत गिरिविरुद्ध प्रहरीमा दिएको उजुरी ।
उजुरी निवेदनमा रमिताले आफूले काम पाउनका लागि बुझाएको रकम, केही समय काम गरेको पारिश्रमिक र भोग्नु परेको मानसिक एवम् शारिरिक पिडाको क्षतिपूर्ति माग गरेकी छिन् ।
गिरिले दुबईस्थित आफ्नो कम्पनीमा कयौं नेपाली महिलालाई बन्धक बनाएर यौन धन्धामा लगाइरहेको रमिताले बताएकी छिन् । चन्द्रनिगाहापुरकी मञ्जु खड्का (नाम परिवर्तन) विगत लामो समयदेखि बन्धकको अवस्थामा छिन् । गिरिले नै पारिश्रमिक तथा काम पनि फेरिदिने र भिसाको म्याद बढाइदिने भन्दै झुक्यानमा पारेर उनलाई त्यहाँ अवैध आप्रवासीको हैसियतमा पुर्याएका छन् ।
कागजातको म्याद सकिएको र खोजखबर गर्न नसक्ने अवस्था हुँदा मञ्जु बन्धक जीवन विताउन बाध्य भएकी हुन् । मोटो रकम खर्चेर दुबई पुगेकी उनी रित्तो हात नेपाल फर्कन सक्ने अवस्थामा छैनन् । रमिताले भनिन्, ‘तपाईंले त्यहाँ भरत गिरिकै कारण मञ्जुले खेप्दै आएको दुःखकष्ट सुन्न चाहानुहुन्छ भने उनैलाई भिडियो कल गरिदिन्छु । भरत गिरिको धन्दा के हो भन्ने उनीबाटै सुन्नुस् ।’
यता, उजुरी निवेदन पेश गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपित गिरिमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान प्रक्रिया थालिएको जानकारी दिएको छ । ‘भरत गिरि फोन सम्पर्कमा आएका छन्, छिट्टै काठमाडौं आउने र कार्यालयमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन्,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका वैदेशिक रोजगार पिलरका एक अधिकारीले भने, ‘उजुरीकै आधारमा कारबाही प्रक्रिया अघि बढाइहाल्नु भन्दा पनि एक पटक आरोपितका कुरा पनि सुन्नुपर्ने हुन्छ ।’ तिहार अगाडि नै आफू सम्पर्कमा आउने फोन सम्पर्कका क्रममा गिरिले बताएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस