aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सरकारले नै झुक्यायो किसानलाई, अवैध आयात नरोकिँदा पुष्प व्यवसायीको अर्बौं डुब्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
सरकारले नै झुक्यायो किसानलाई, अवैध आयात नरोकिँदा पुष्प व्यवसायीको अर्बौं डुब्दै

काठमाडौं । सरकारले गलत आश्वासन दिएका कारण नेपाली फूल उत्पादक किसानहरूको अर्बौं लगानी डुब्ने भएको छ । भारतबाट आयात हुने सयपत्री फूलको मालामा रोक लगाउने भने पनि त्यो कार्यान्वयनमा नआउँदा यस्तो स्थिति देखापरेको हो ।

सरकारी आश्वासनपछि नेपाली फूल किसान उत्साहित थिए । पुष्प विकास केन्द्रले सूचना नै जारी गरेर यस वर्षको तिहारको लागि भारतीय माला आयातमा रोक लगाएको जनाएको थियो ।

केन्द्रले कात्तिक १२ गते जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘यस वर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा २०८० कार्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ ।’

यसले गर्दा पनि नेपाली किसानहरू आफुले उत्पादन गरेको फूलले बजार पाउनेमा ढुक्क थिए ।  तर, किसानहरूको त्यो उत्साह तिहार नजिकिएसँगै निराशामा परिणत भएको छ ।

सरकारले आयातमा रोक लगाउने कागजी घोषणा बाहेक आयात रोक्न कडाइका साथ कुनै काम गरेन । फगत निर्णय गरेर सरकारी निकाय हात बाँधेर बस्दा आयात नरोकिएको व्यवसायीको आरोप छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ भन्छन्, ‘सरकारले फूल आयातमा रोक लगाउने भनेपछि हामी उत्साहित थियौँ । तर, रोक लगाउने काम नै गरेन । आयात नियन्त्रण नै भएको छैन ।’ उनले किसानले दुख गरेर उत्पादन गरेको फूल त्यतिकै फाल्नुपर्ने अवस्था आएको बताए । उनले थपे, ‘हाम्रो फूल फाल्नु पर्ने सम्भावना आइसकेको छ । नेपाली किसानहरूले माला बेच्ने भन्दा पनि फाल्नु पर्ने बाध्यता आइलाग्ने भयो ।’

उनीहरूले गृह मन्त्रालयसँग नै नेपाली पुष्प व्यवसायीहरूको संरक्षण गर्न अवैधरुपमा आउने आयातलाई रोक लगाउन अनुरोध गरेका थिए । ‘अवैध आयात रोक्नका लागि हामीले गृह मन्त्रालयमा बसेर सम्बन्धित सबै मन्त्रालय र विभागसँग छलफल गरेका थियौँ । २० प्रतिशत मात्रै आयात गर्दा पुग्छ अन्य आयात गर्नु पर्दैन नेपाली उत्पादनले नै धान्छ भनिएको थियो ।’

केन्द्रको सूचनालाई नै गिज्याउने गरि ट्रकका ट्रक फूल आयात भइरहेको व्यवसायीहरू बताउँछन् । पछिल्ला केही दिनयता देशभरका विभिन्न स्थानमा रहेका कोल्डस्टोरहरु भारतीय फूलले भरिएको जानकारी पाएको अध्यक्ष तामाङले बताए । अध्यक्ष तामाङले भने, ‘देशभरका कोल्डस्टोरहरु आयातित फूलका कारण भरिएका छन् । बनेपा, भैरहवा, कालीमाटी लगायत देशभरका कोल्ड स्टोरमा फूल आयात गरेर राखिएको छ ।’ 

नेपाली फूल उत्पादन किसानहरू आयातित फूलका कारण मारमा पर्ने देखिएको छ । नेपाली उत्पादनले बजार नपाउने स्थिति सिर्जना भएको छ । ‘आयातित फूलका कारण नेपाली किसान विस्थापित हुने अवस्था आएको छ । कोल्ड स्टोर भरिएको खबरले नेपाली किसानहरू आफूले उत्पादन गरेको फूल बिक्री नहुने चिन्तामा छन् ।’ 

नेपाली उत्पादन प्रशस्त भए पनि आयातमै बढी ध्यान जानुमा मूल्य प्रमुख कारण रहेको छ । नेपाली फूलको उत्पादन लागत र भारतीय फूलको उत्पादन लागतमा निकै नै अन्तर पर्न जान्छ । नेपालमा उत्पादन भएको फूलको मालाको लागत ६० रुपैयाँदेखि ७५ रुपैयाँसम्म पर्न जान्छ । तर, भारतीय फूलको माला ५० रुपैयाँमै बेच्दा पनि व्यवसायीले निकै मुनाफा लिन सक्छन् । 

उनका अनुसार यस वर्षको तिहारको पाँच दिनमा करिब ३५ लाख माला खपत हुने अनुमान गरिएको छ । जसमा सबैभन्दाबढी सयपत्री, मखमली, गोदावरी रहेका छन् । करिब ३१ करोड रुपैयाँको होलसेल मूल्य कारोबार हुने अनुमान गरिएको छ । गत वर्ष पनि २६ करोड हाराहारीको फूलको कारोबार भएको थियो ।

यस वर्षको तिहारमा मागको ८० प्रतिशत नेपाली मालाले नै माग धान्न सक्ने अवस्था छ । हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । जसमा किसानहरूको सात अर्ब भन्दा बढी लगानी रहेको छ । अवैध आयातका कारण नेपाली किसानको अर्बौं लगानी डुब्ने चिन्तामा किसान छन् ।

एक हजार ११६ भन्दा बढी किसान र व्यवसायीहरू पुष्प व्यवसायमा संलग्न छन् । जसमा नर्सरी ५०५, कट फ्लावर उत्पादक ८०, कट फ्लावर खुद्रा व्यवसायी १३७, पुष्प थोक व्यवसायी ४, इन्पुट सप्लायर्स २५, लुज फ्लावर उत्पादक ३६५ रहेका छन् । पुष्प व्यवसायमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा ४४ हजार भन्दा बढी जनशक्तिले रोजगार पाइरहेको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस