aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ कार्तिक २०८०
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

कैलाली । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका वडा नं ५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताए । “मिल सञ्चालकसँग समन्वय भएर नै उखुखेती सुरु गरेका छौँ । “उनी भन्छन, “मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ ।”

प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताए । “केही भागमा उखुखेती सुरु गरेका छौँ भने केही किसानलाई पनि उखुखेतीका लागि आग्रह गरेका छौँ”, प्रबन्धक निर्देशक ओलीले भने, “उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरणहरू जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ ।” 

कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न रु दुई अर्बदेखि अढाई अर्ब खर्च लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँचदेखि छ हजार बिघा क्षेत्रफलमा उखुखेती आवश्यक पर्ने निर्देशक ओली बताउछन। मिल सञ्चालनमा आए पाँच सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ । कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भए पनि अन्य कर्मचारी स्थानीयलाई प्राथमिकतामा राख्ने बताएको छ ।

बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । “बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षात्को समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ ।” राजापुर नगरपालिका वडा नं ८ का धर्मचन्द्र चौधरीले भने, “चिनी मिल सञ्चालन भयो भने हामीलाई धेरै राम्रो हुनेछ । ममात्रै नभई यस क्षेत्रका किसानलाई पनि ठूलो अवसरको रूपमा चिनी मिल बन्ने छ ।”

अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन हुँदा बर्दियाका किसानलाई मात्रै नभई छिमेकी पालिकाले पनि ठूलो लाभ लिनसक्ने बताउनुभएको छ । उखु मिल सञ्चालन हुँदा उत्पादन नहुने कुनै पनि जग्गा खाली नरहने उहाँको विश्वास छ । “अहिले कैयौँ जग्गा प्रयोगमा छैन । वर्षात्को समयमा बाढी र डुबान, हिउँदमा सिँचाइको समस्याले किसान उत्साहित भएर खेतीमा अग्रसर हुनसकेका छैनन्”, सुरेन्द्र चौधरी भने, “चिनी मिल बर्दियाका लागि ठूलो अवसर हो । यसबाट किसानलाई मात्रै नभई अन्य नागरिकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा फाइदा हुने छ ।”

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले चिनी मिल राजापुर क्षेत्रका लागि ठूलो सम्भावना बोकेको उद्योग बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रोजगारीका अवसरदेखि किसानको सम्भावनालाई चिनी मिलले पूरा गर्ने बताउछन । “स्थानीय सरकारको प्राथमिकता भनेकै रोजगारीका अवसर सिर्जना गर्नु र स्थानीय उत्पादनलाई मजबुत बनाउनु नै हो । जसमा नगरपालिकाले सबै संयन्त्रसँग समन्वय र सहकार्य गर्दै पनि आएको छ ।” नगरप्रमुख थारू भने, “स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा हामी सधैँ सकारात्मक र सहयोगी भावनाका साथ अगाडि बढेका छौँ । त्यसैको उपज चिनी मिल सञ्चालनमा आउनु पनि हुनेछ ।”

उनले राजापुर नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउनका लागि यस्तै दुई–चारवटा अन्य उद्योग सञ्चालनमा ल्याउन जरुरी रहेको बताए । “चिनी मिल सञ्चालनमा आयो भने सयौँले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँले अप्रत्यक्ष रोजगारीमा जोडिने छन्”, नगरप्रमुख थारूले भने, “यसरी दुई–तीन अरु उद्योग सञ्चालनमा आउन सक्यो भने यस क्षेत्रका सबैले रोजगारी पाउने छन् । स्थानीय उत्पादनले बजार पाउने छ । अनि समृद्ध नगरपालिका बनाउन कुनै समस्या छैन ।”

टीकापुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर किसानले उखुखेती सुरु गरेको बताए । “उनहरूकै आग्रहमा किसानले उखुखेती सुरु गर्नुभएको छ । गुड मिल सञ्चालन गर्दै आएको मैले पनि थप उखुखेती विस्तार गरेको छु”, वडाध्यक्ष ठकुल्ला भने, “बर्दियामा मिल सञ्चालन भए पनि त्यसले टीकापुरलगायतका छिमेकी पालिकालाई समेत मद्दत मिल्ने छ ।”रासस

प्रतिक्रिया दिनुहोस