
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाम र लोगो अनधिकृत रुपमा प्रयोग गर्दै आएका विभिन्न समूहलाई कानूनको दायराभित्र ल्याएर समस्याको समाधान खोज्ने डा बद्री केसी समूहले निर्णय गरेको छ । संघको बैठकमा संघको ११ औं महाधिवेशनको निर्वाचनमा सपथ लिन बाँकी पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ ।
सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकमा केसी पक्षले केही पदाधिकारी र राष्ट्रिय समन्वय परिषद्बाट निर्वाचित आईसीसी सदस्यहरूको शपथ ग्रहण गराएको थियो । तर, केसीको कमिटीलाई अवैध घोषणा गर्दै नयाँ कमिटी बनाएका अध्यक्ष आरके शर्माले संघको विधान विपरीतको गतिविधि अस्वीकार्य रहेको बताए ।
एनआरएनएको प्रवक्तामा फणिन्द्र पन्तलाई मनोनयन गरिएको छ । अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार (१३ नोभेम्बर २०२३) बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले पन्तलाई आगामी दुई वर्षको लागि मनोनयन गर्ने निर्णय गरिएको हो ।
बैठकले विभिन्न पदाधिकारीहरुलाई विभागीय जिम्मेवारी समेत तोकेको छ । जसअन्तर्गत १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा डा। बद्री केसी, सदस्य सचिवमा टीका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ तथा सोम सापकोटालाई जिम्मेवारी तोकिएको छ ।
लगानी विभाग प्रमुखमा डा केशव पौडेल र सदस्य सचिवमा पारसमणी पोखरेल, आर्थिक विभाग प्रमुखमा सुदन थापा र सदस्य सचिवमा अभिमन्यू बस्नेत, कृष्ण प्रसाद तिमल्सिना, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) लाई जिम्मेवारी तोकिएको छ । संघको परोपकार विभागमा संघका उपाध्यक्ष डा हेम राज शर्मा र सदस्य सचिवमा नवराज रोस्यारा तोकिएका छन् ।
महिला विभाग प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई, सदस्य सचिवमा अनुजा प्रधान र युवा विभागको प्रमुखमा रोशन थापा, सदस्य सचिवमा सुपेन्द्र घिसिङलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै नेपाल प्रर्वधन विभागको प्रमुखमा रोबिन शेरचन, सदस्य सचिवमा भीम कमल केसी, वैदेशिक रोजगार विभागको प्रमुखमा राज रेग्मी, सदस्य सचिवमा मनोज गोर्खाली, एनआरएन सामाजिक कल्याण विभाग प्रमुखमा रामशरण सिम्खडा, सदस्य सचिवमा स्वतन्त्र प्रताप, सीप तथा प्रविधि विभागिय प्रमुखमा डा विनोद श्रेष्ठ, सदस्य सचिवमा डा ज्ञानेन्द्र रेग्मीलाई जिम्मेवारी तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै ११ औँ महाधिवेशनमा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने क्रममा देखा परेको समस्याको छानबिन गर्न अन्तर्राष्ट्रिय अडिट कम्पनीलाई जिम्मेवारी दिने निर्णय भएको छ भने बैठकले संघको निर्वाचनमा अध्यक्षका प्रत्यासीद्धय आरके शर्मा र महेश श्रेष्ठलाई छानबिनमा सहयोग गर्न पुनः पत्राचार गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस