
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निर्माणाधिन सपस्टेनको सुरक्षार्थ प्रहरीको पोष्टका विरुद्धमा स्थानीय र प्रहरीबीचमा झडप भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो । उक्त झडपमा परि नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी र सुनकोशी लगायतका खोलाहरुबाट उत्पादन हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४०० र २२० र १३२ र ११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेको बताएका छन ।
प्राधिकरणले उक्त सवस्टेसन निर्माण स्थलका बासिन्दालाई मुआब्जा दिइसकेको बताएको छ । सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् ।
चाँगुनारायणमा १३२ केभी क्षमताको सबस्टेसन सम्पन्न हुने चरणमा छ । सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड वितरण गरिएको छ ।
क्षतिपूर्ति नपाएका एक जनाको हकमा कानुनी समस्या उत्पन्न भएको छ । उक्त व्यक्तिले भोगचलन गरिरहेको भएता पनि पर्ती जग्गाको रुपमा रहेकोले मुआब्जा दिन समस्या रहेको विद्युत् प्राधिकरणले बताउँदै आएको छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणबाट सबस्टेसनहरु तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस