काठमाडौं । सवारीसाधनको व्यापार खस्किरहँदा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भदौ २६ देखि ३१ सम्म ‘नाडा अटो शो’ आयोजना गर्यो । अटो शो अवलोकन गर्न भृकुटीमण्डप अघिको प्रदर्शनी मार्गमा खचाखच भएका सर्वसाधारण देख्दा लाग्थ्यो : अब नेपालमा सवारीसाधनको व्यापार ह्वात्तै बढ्छ ।
नभन्दै त्यस्तै भएको छ । अझ यसको शीर्ष प्रायोजक टाटा मोटर्सले नाडा अटो शोबाट सबैभन्दा धेरै फाइदा उठाएको छ । भन्सार विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक विश्लेषण गर्दा टाटाको विद्युतीय गाडीले नेपालको सडकमा बर्चस्व नै कायम गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म २ हजार ७८७ विद्युतीय कार, जीप र भ्यान आयात गरिएको छ । यसमध्ये टाटाका मात्रै १ हजार ३७ वटा गाडी नेपालमा ल्याइएको छ ।
भदौको अन्तिम साता नाडा अटो शो भैरहँदा टाटाले नेपालमा आफ्ना विद्युतीय गाडीको प्रचार व्यापक बनाएको थियो । त्यसअघि बजारीकरणमा चिनियाँ विद्युतीय गाडीसँग टाटाले संघर्ष गरिरहेको थियो ।
नाडा अटो शोमा टाटाले टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेट प्लस र टाटा पञ्च सार्वजनिक गरिदियो । यी गाडीको विज्ञापन पनि जोडतोडले गर्यो । वितरक सिपर्दी ट्रेडिङले सर्भिस सेन्टर र चार्जिङ स्टेशनमा लगानी बढायो । विद्युतीय गाडी सञ्चालनका लागि आवश्यक पूर्ण ‘इकोसिस्टम’ नै तयार गर्यो ।
लगत्तै बजारमा टाटाका ईभीको गाडी माग हुन थाल्यो । त्यसअघि नै सार्वजनिक यातायातमा प्रयोग हुने ट्याक्सी सेवामा समेत टाटाका विद्युतीय कार प्रयोग हुन थालिसकेका थिए । निजी विद्युतीय सवारीसाधन खरिद गर्नेका लागि नयाँ र आकर्षक मोडलका टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेट प्लस र टाटा पञ्चले छनोटमा थप अवसर दियो ।
भन्सार विभागको तथ्यांक केलाउँदा कात्तिकसम्म अर्थात् चालू आर्थिक वर्षको चार महिनामा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरका विद्युतीय गाडी आयात भएको छ । चीनबाट यो अवधिमा १ हजार ५७४ वटा गाडी आयात गर्दा भारतबाट १ हजार १९३ वटा गाडी ल्याइएको छ । भारतबाट ल्याइएकामध्ये १ हजार ३७ गाडी त टाटाका मात्रै हुन् ।
तथ्यांकमा चीनबाट भित्र्याइएका गाडीको संख्या धेरै देखिएपनि ब्राण्डका हिसाबले भने भारतीय टाटाकै बर्चस्व छ । चिनियाँ गाडी बीवाइडीको हिस्सा दोस्रो नम्बरमा र एमजीको तेस्रो नम्बरमा छ । चार महिनामा बीवाइडी र एमजीका क्रमशः ८८९ र ४५८ वटा गाडी नेपाल भित्र्याइएको छ । जब कि टाटाको १ हजार ५७४ वटा गाडी आयात भएको छ ।
यी बाहेक इन्डोनेसियाबाट १२, कोरिया र अमेरिकाबाट ३/३ तथा जर्मनीबाट २ वटा ईभी नेपाल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस