aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनसेलबाट अजियाटा बाहिरिने, शेयर आचार्यद्वयले किन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ मंसिर २०८०
एनसेलबाट अजियाटा बाहिरिने, शेयर आचार्यद्वयले किन्ने

काठमाडौं । बहुराष्ट्रिय दूरसञ्चार लगानी समूह अजियाटा नेपालको एनसेलबाट बाहिरिने भएको छ । लगातार व्यापार खुम्चँदै र कर लगायत प्रकरणले शाख गिर्दै गएपछि अजियाटाले व्यवसायिक चुनौती बढेको उल्लेख गर्दै नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

एनसेलबाट बाहिरिनेगरी आफ्नो सम्पत्ति (शेयर) बिक्रीमा राखेको अजियाटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अजियाटाको सञ्‍चालक समितिले नेपालको एनसेलमा रहेको कम्पनीको ८० प्रतिशत शेयर बिक्री प्रकृया अघि बढाइसकेको छ ।

मलेसियाको अजियाटा ग्रुप ७ वर्षअघि स्वीडिस कम्पनी टेलिया सोनेराको शेयर किन्दै एनसेलमा भित्रिएको थियो । हाल एनसेलमा अजियाटाको शेयर हिस्सा ८० प्रतिशत छ भने सुनिभेरा क्यापिटल भेञ्‍चरसँग २० प्रतिशत छ । स्रोतका अनुसार अजियाटाले बिक्री गर्ने शेयर अब नेपाली साझेदारहरू सतीशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने समझदारी भएको छ ।

सन् २०२०/२१ देखि नै एनसेलको व्यापार लगातार खुम्चिरहेको थियो । सन् २०१९/२० मा ४६ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार गरेको एनसेल अजियाटा २०२०/२१ मा ४० अर्ब ४२ करोड रुपैयाँमा खुम्चिएको थियो । त्यसपछिको वर्ष २०२१/२२ मा ३९ अर्ब ७२ करोड र २०२२/२३ मा ३७ अर्ब ४४ करोड रुपैयाँ बराबर व्यापार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस