
आज विश्व माटो दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी माटो दिवस मनाउँदै आइएको छ । सन् २०१४ डिसेम्बर ५ बाट सुरु भएको प्रथम विश्व माटो दिवस यस वर्ष पनि "Soil and water, a source of life" नारा सहित विश्वभर विविध कार्यक्रम सहित मनाइदैछ ।
यसै सन्दर्भमा नेपालमा पनि माटोको महत्त्व दर्साउँदै यसको संरक्षण, सम्बद्ध र उचित व्यवस्थापनको लागि जनचेतना अभिवृद्धि गर्न माटो र पानी, जीवनको थालनी भन्ने नारा सहित विविध कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाइदैछ ।
यस विश्व माटो दिवसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, माटो र पानीको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारको लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ । नेपालको सन्दर्भमा माटोको अम्लीयपना प्रमुख समस्याको रूपमा (बागमती प्रदेशमा करिब ८० प्रतिशत) रहेको विषय प्रस्ट्याउँदै यसको समाधानको लागि कृषि चुनको प्रयोग अभियानको रूपमा सञ्चालन गर्नु पर्ने आवश्यकता सबै माझ पुर्याउनु पर्ने देखिन्छ ।
माटोमा भएको प्राङ्गारिक पदार्थको कमी (बागमती प्रदेशमा करिब ५० प्रतिशत) माटोको दोस्रो ठुलो समस्याको रूपमा रहेकोले गुणस्तरयुक्त प्राङ्गारिक पदार्थको उत्पादन (भकारो सुधार, गहुतको संरक्षण र सदुपयोग) र प्रयोगको आवश्यकता रहेको छ । असन्तुलित मलखादको प्रयोग, परिवर्तित बाली चक्रको अनुशरण र विभिन्न रसायनयुक्त प्रयोगले माटोमा भएको सूक्ष्म जीवाणुको सङ्ख्या न्यून हुँदै माटो मृत अवस्थामा पुग्ने देखिएकोले माटोमा सूक्ष्म जीवाणुमलको प्रयोग तेस्रो महत्त्वपूर्ण विषयको रूपमा सञ्चालन गर्नु पर्ने देखिन्छ ।
यस वर्ष माटो तथा मल परीक्षण प्रयोगशालाले बागमती प्रदेश, शंखरापुर नगरपालिकाको विभिन्न वडाबाट संकलित ४२५ थान माटोको नमुना घुम्ती माटो परीक्षण प्रयोगशाला मार्फत नगरपालिकाको वडा नं. ३ जहसिंह पौवामा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
माटो परीक्षणको नतिजा अनुसार कृषकलाई निःशुल्क कृषि चुन (१६ मे.टन) वितरण गर्ने र माटो व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी शंखरापुर नगर पालिकासँगको संयुक्त आयोजनामा विश्व माटो दिवस २०८० मनाउने कार्यक्रम रहेको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस