
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गरिएको हो ।
दोस्रो चरणमा सर्वसाधारणका लागि मङ्सिर २७ गतेदेखि आईपीओ निष्कासन गर्ने मिति तय गरिसकेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा मङ्सिर २४ गते आईपीओ बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मङ्सिर ४ गतेदेखि १८ गतेसम्म ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३२ हजार ५६ जना आवेदकहरूमा १० कित्तादेखि अधिकतम १८० कित्तासम्म आईपीओ बाँडफाँट गरिएको हो । ३२ हजार ६४ जना वैदशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिएको जानकारी विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले दिएको छ । रितपूर्वक नभएका ८ आवेदन रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीले प्रिमियम मूल्य सहित आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जारी पूँजी १० अर्ब रूपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
पहिलो चरणका विक्री गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी २ करोड ४९ लाख कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस ११ गतेसम्म विक्री लम्बिनेछ । आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा य कम्पनीको आईपीओ पनि छिटो अवधि पुस १ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
यस अघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ । यो कम्पनी २०७८ साल असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेको छ । अधिकृत पूँजी २१ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रूपैयाँ रहेको छ ।
हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रूपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस