aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आईपीओ जारी गर्न सेबोनसंग माग्यो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आईपीओ जारी गर्न सेबोनसंग माग्यो अनुमति

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

मङ्सिर १८ गते प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डमा निवेदन दिएको हो । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपालमा पहिलो पटक बुक विल्डिङ प्रकृयाबाट यस कम्पनीले आईपीओ विक्री गरेको हो । योग्य संस्थागत लगानीकर्तामा भने प्रतिकित्ता ४०१ रूपैयाँमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले मंसिर ६ गतेदेखि १० गतेसम्म पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता आईपीओ विक्री गरेको थियो । 

योग्य संस्थागत लगानीकर्तामा जारी भएको शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रूपैयाँदेखि ६०१ रूपैयाँ ५० पैसा तोकिएको थियो । मङ्सिर ११ गते तोकिएको अवधिभित्र योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खोली निर्धारण भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा आईपीओ बाँडफाँट गरिएको हो ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ जारी हुनेछ । सोही व्यवस्था बमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रूपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न कम्पनीले बोर्डबाट स्वीकृति पाएको थियो । दोस्रो चरणमा विक्री हुने कुल कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । 

यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस