aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

उखुको मूल्य प्रतिक्विन्टलमा २५ रुपैयाँ बढाउने सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
उखुको मूल्य प्रतिक्विन्टलमा २५ रुपैयाँ बढाउने सहमति

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाउन त्रिपक्षीय सहमति गरेको छ । केही दिनअघि प्रतिकिलोमा ११ पैसामात्रै बढाएका कारण उखु किसान आक्रोशित भएपछि सरकारले उखुको भाउ बढाएको हो ।

नेपाल चिनी उत्पादक संघका अध्यक्षा शशिकान्त अग्रवालले किसान, उद्योगी र मन्त्रालयबीच सोमबार उखुको मूल्यवृद्धिमा सहमति भएको जानकारी दिए । उद्योगीले प्रतिक्विन्टलमा २० रुपैयाँमात्रै बढाउने अडान लिए पनि किसानको मागबमोजिम २५ रुपैयाँमा सहमति गरिएको अग्रवालले आर्थिकन्यूजलाई बताए ।

नयाँ समर्थन मूल्यसँगै प्रतिक्विन्टल उखुको मूल्य साविक अनुदान समेत जोड्दा ५६५ रुपैयाँ हुन आउँछ । त्रिपक्षीय सहमतिअनुसार उखुको मूल्य तय भएको भनिए पनि समर्थन मूल्यबारे भने मन्त्रिपरिषद्‌ले निर्णय गर्नुपर्छ । मन्त्रालयले उखुको नयाँ समर्थन मूल्यदर स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पठाएको छैन ।


गुलियो चिनीमा प्रचण्ड सरकारको बैगुनी खेल, चाडबाडमै अभाव र कालोबजारी


सरकारले गत वर्ष पनि ढिला गरी माघ ४ गतेमात्रै उखुको समर्थन मूल्य तोक्दा किसान मर्कामा परेका थिए । उनीहरूमध्ये कतिपयले त्यसअघि नै उखु बेचिसकेका थिए भने सयौं किसानले लगाएको उखु बारीमै सुक्न र बिग्रन थालेको थियो । गत वर्ष प्रतिक्विन्टल ५४० रुपैयाँ र थप अनुदानस्वरुप ७० रुपैयाँ गरी ६१० रुपैयाँ तोकिएको थियो ।

 

यो वर्ष पनि उखु उत्पादन भैसक्दा समेत सरकारले समर्थन मूल्य नतोकेपछि किसानहरू आक्रोशित छन्‌ । उनीहरूले आफूसँग भएको उखु चिनी मिलको साटो सख्खर उद्योगलाई बेच्न थालेका थिए । कतिपय किसानले आफैं सख्खर बनाएर बजारीकरण गर्न थालेपछि चिनी मिल सञ्‍चालक सस्तोमा उखु नपाइने डरले आत्तिएका छन्‌ ।

चिनी उद्योगीहरूको मिलेमतोमा उच्च राजनीतिक नेतृत्वले नै उखु किसानलाई रुवाउँदै आएको छ । समयमै समर्थन मूल्य नतोकिदिने, उखुको बक्यौता भुक्तानी नगरेका चिनी उद्योगीलाई संरक्षण गर्ने र आन्दोलित किसानलाई झुक्क्याएर तड्पाउने काम पटकपटक हुने गरेको छ ।

यसपटक व्यापारीहरूले चिनीको भाउ प्रतिकिलो ४० रुपैयाँसम्म बढाउँदा पनि सरकारले भने प्रतिकिलो ११ पैसा रुपैयाँमात्रै बढाएको थियो । सरकारले किसानलाई प्रतिकिलोमा ७० रुपैयाँ अनुदान दिने भने पनि सो बापतको ५२ करोड रुपैयाँ अहिलेसम्म उपलब्ध गराएको छैन ।

प्रतिक्रिया दिनुहोस