aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बफादार घरको सदस्य, यसको पनि चलिरहेको छ व्यवसाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
बफादार घरको सदस्य, यसको पनि चलिरहेको छ व्यवसाय

काठमाडौं । कुकुर अब बफादार साथी, इमान्दार जीवमा मात्र सिमित रहेन । नेपाली समाजमा पनि यो जीव क्रमश : व्यवसायको एउटा पाटो बन्दै गएको छ । यसो हुनुमा यो प्राणी माथीको स्वामित्व भाव पनि एउटा कारण हो । पछिल्लो समय घरमा कुकुर राख्नु सौख र व्यक्तिगत शान र प्रतिष्ठाको विषय पनि बनेको छ ।

नेपालीहरुले घरमा कुकुर पाल्ने चलन नयाँ भने होइन । द्वार पालको रुपमा पालन गरिने र द्धारभित्र भने प्रवेश नपाउने गरेको यो जीवले पछिल्लो समय घरभित्र प्रवेश मात्र पाएको छैन् । कतिपय घरमा सन्तानको मान्यता नै पाउन थालेको छ ।

पौराणिक कालदेखि नै यस जीवको आफ्नै महत्व रही आएको छ । यम पञ्चकको दोस्रो दिन , कुकुरको पुजा गर्ने चलन छ । ५ दिनसम्म चल्ने झिलिमिली बत्तिको पर्व अर्थात दिपावलीको बिशेषता यसको रौनकमा मात्र सिमित छैन् । दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत वैदिक सनातन नियमित गतिविधि यो पर्व विशेषता हो र तिहारको यो ५ दिनलाई यम पञ्चक पनि भनिन्छ ।

kukur-tihar

वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । मानव सभ्यताको हरेक प्राचिन खोजहरुमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफदार र साहसी जीवको रुपमा परिचित छ कुकुर । आज कुकुरलाई पूजिने गरिन्छ ।

ऋगवेदमा स्पष्ट रूपमा ‘समरा’ अर्थात् कुकुरहरुकी आमाको बारेमा उल्लेख गरिएको छ । समराले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्यू पर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहि आएको छ ।

महाभारतमा पनि सत्यवादि युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत् मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक, निडर भगवान भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।

आधुनिक महत्व :
आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा “लाईका” नामक कुकर पुगेको हो । कुकुर घर पालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर हो । यसले सुघेर अपराधिहरूलाई पत्ता लगाउन सक्छ सायद त्यसैले होला विश्वको जुनसुकै देशमापनि कुकुरलाई विशेष रुपमा मानिन्छ ।

Laika, dog, 1957.

कुकुरहरुको विशेषता भएकै कारण आजभोली शहर तथा ग्रामीण भेगमा कुकुर पाल्ने प्रचलन बढ्दो मात्रामा छ । यसललाई प्रमाणित गर्छ काठमाडौंमा मात्रै खोलिएका ५० भन्दा बढी केनल क्लब (व्यावसायिक रुपमा कुकुर पाल्ने)हरुले । कुकुरहरुको व्यापारबाट मनग्गे आम्दानी गर्नेहरु पनि हाम्रै समाजमा छन् । हाल कुकुरलाई सोखको रुपमा, पारिवारीक सदस्य या सुरक्षाको पहरेदारको रुपमा पाल्ने गरिन्छ । ग्राहकहरुको रुची र आवश्यकता अनुसार केनल क्लबहरुले विभिन्न प्रजातीका कुकुरहरुको उत्पादन गर्छन् । कुकुरका सौखिनहरु अहिले विश्वका बिभिन्न देशबाट आयात गर्छन् ।

महानगर एनिमल रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुरेश कार्कीका अनुसार नेपालमा कुकुर पालनको लागि करिब १० प्रतिशत कुकुर चीन, थाइल्याण्ड तथा भारतबाट आयात हुन्छ । नेपालमा नै कुकुरहरुको ब्रिडिङ गरिने भएकोले धेरै आयात गनुपर्ने अवस्था नआएको कार्की बताउछन ।

घर पालुवा कुकुरको सङ्ख्या यति छ भन्ने आँकडा नभएपनि काठमाडौं उपत्यकाका करिब ८० प्रतिशत घरमा कुकुर पालन हुन्छ भन्छन् , कार्की । काठमाडौंमा विशेषत : मध्यम तथा शालिन वर्गका मानिसहरुले कुकुर पाल्ने गरेका छन् । समान्यतया नेपालमा जापनिज स्पिट्ज, जर्मन सेर्फड, ल्याब्रो डग, स्पाइनल, बक्सर तथा डाल्मेन्सन जातका कुकुरहरु पालिने गरेको छ यधपि गाउघरतिर पाइने भोटे कुकुर तथा अन्य कुकुरहरु पनि पालिने गरेको छ ।

खर्च :
यदि सामान्य तरिकाले कुकुर पाल्ने हो भने यसको खर्च मासिक १२ देखि १५ सय मात्रै हुन्छ । त्यसको लागि घरधनिले खाने गरेको खुराकहरु मात्रै खुवाउदा पनि हुन्छ । तर बजारमा उपलब्ध हुने डग फुडहरु खरिद गरि कुकुरलाई खुवाउने हो भने मासिक लागत ५ देखि ७ हजार लाग्छ । तर आयातित तथा ठूला साइजका कुकुरहरुको खर्च झण्डै १२ हजार लाग्ने बताउँछन्, माउन्ट एभरेष्ट केनल क्लबका कार्यलय निर्देशक बिष्णु पौडेल ।

kellel-club

झण्डै ५० वटा केनल क्लब तथा पेट सप रहेको काठमाडौंमा कुकुरको मूल्य ४ हजारदेखि ५० हजारसम्म रहेको छ । तर नेपालमा नै १ लाख ५० हजारसम्म मूल्यको कुकुर खरिद गरेर पाल्ने सौखिनहरु रहेको सुरेश कार्की भन्छन् । कतिपय मानिसहरुले कुकुरलाई पारिवारी सदस्यको रुपमा पनि पालेको पाइन्छ । यस्तो घरहरुमा ति कुकुरलाई पारिवारिक सदस्यजस्तै नाम दिने, डाइनिङमा राखेरसँगै खाने तथा सँगै सुत्ने समेत गरेको पाइन्छ । यस अर्थमा पारिवारिक सदस्य बराबरकै खर्च कुकुरलाई लाग्छ ।

happy-kukur-tihar

नायिका ऋचा शर्माको फेसबुकबाट

पाल्दा के कुरामा ध्यान दिने :
यदि तपाई कुकुर पाल्ने हो भने कति समय कुकुरलाई दिन सक्नुहुन्छ, त्यसमा ध्यान दिनुपर्छ । कतिपय कुकुरलाई धेरै ध्यान दिनुपर्छ । साथै यि कुराहरुलाई पनि ध्यान दिनुपर्छ ।

  • कुन ब्रिडको कुकुर पाल्ने त्यसको निर्णय लिने, अरुको देखासिकी भन्दापनि आफ्नो आवश्यकता र रुचीलाई ध्यान दिने
  • खानपानमा ध्यान दिने
  • नियमित स्वस्थ्य परिक्षण गर्ने, (खोप, लगेज, जुकाको औषधी, किर्ना तथा उपियाँको उपचार गर्ने तथा सरसफाईमा ध्यान दिने
  • बस्ने खोरको राम्रो ब्यवस्था गर्ने
  • शारिरिक व्ययाममा ध्यान दिने
  • अनुशासनमा ख्याल पुर्याउने

प्रतिक्रिया दिनुहोस