aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
शेयर बजारको ‘अफ सिजन’ लाई लगानीकर्ताले गरे बाई बाई, अब सिजन शुरु

शेयर बजारको ‘अफ सिजन’ लाई लगानीकर्ताले गरे बाई बाई, अब सिजन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ चैत्र २०७५
शेयर बजारको ‘अफ सिजन’ लाई लगानीकर्ताले गरे बाई बाई, अब सिजन शुरु

काठमाडौं, चैत २२ ।  हिजोआज बसन्त ऋतुको मौसम छ । बसन्त ऋतुमा नयाँ पालुवा पलाउने, फूल फुल्ने र सबैतिर हरियाली छाउने गर्दछ ।  बसन्त ऋतुसँगै शेयर बजारमा पनि हरियाली छाउने र रातो रङ हरियोमा परिणत हुने विश्वास गरिन्छ । विगत एक दशकको अवधिलाई हेर्ने हो भने पनि एक दुई अपवाद बाहेक वैशाखदेखि शेयर बजार बढेको देखिन्छ ।  यसपटक पनि त्यस्तै देखिँदै छ, शेयर बजारले बढ्ने संकेत देखाइसकेको छ । मध्य चैतदेखि नै शेयर बजारमा आशाका किरण देखिन थालेका छन् । 

चैत १४ गते ११४४.५३ विन्दुमा रहेको नेप्से बिस्तारै बढेर यो साताको अन्तिम कारोबार बिहीबारका दिन ११६५.२० विन्दूमा आइपुगेको छ । एक सातामा नेप्से करिब २१ अंकले बढेको छ । यसलाई लगानीकर्ताहरु शेयर बजारमा लगानी गर्ने ‘सिजन’ शुरु भएको र ‘अफ सिजन’ को अन्त्यको भएको भन्ने गर्छन् । शेयर बजारमा चैतअघि अफ सिजन र चैतपछि सिजनको रुपमा लिने गरिन्छ । मध्य चैतदेखि नै नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गर्न थाल्ने र नेप्से पनि बिस्तारै उकालो लाग्दै जाने गरेको अनुभव पुराना लगानीकर्ताको छ ।

शेयर कारोबार रकमले पनि शेयर बजार कुन गतिमा जादै छ भन्ने कुराको आँकलन गर्न सकिन्छ । नेप्सेले शेयर बजार मापन गरेजस्तै कारोबार रकमले पनि बजारको भविश्यवाणी गर्ने बताइन्छ । कारोबार रकम पनि बढेकाले पनि शेयर बजार उकालो लाग्ने अनुमान गरिएको छ । 

नेप्सेजस्तै कारोबार रकमलाई पनि हेर्ने हो भने चैत १४ गते करिब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार थियो । त्यो क्रमशः बढ्दै गएर गत बुधबार करिव ५५ करोडको कारोबार हुन पुग्यो । यो साताको अन्तिम दिन बिहीबार भने बुधबारको तुलनामा केही कम अर्थात ४२ करोड ३४ लाखको हुन पुगेको छ । 

नेप्से पनि बढ्दै गएको छ र शेयर कारोबार पनि करिब दोब्बरले बढेको छ । शेयर कारोबार रकम वृद्धि हुनुलाई पनि लगानीकर्ताहरु बसन्त ऋतुको प्रभाव भन्ने गर्छन् । बसन्त ऋतुमा बोट बिरुवालाई बैंस आएजस्तै शेयर बजारमा पनि नेप्सेलाई बैंस लाग्न थालेको उनीहरुको तर्क छ ।

चैत मसान्तमा ब्याज र कर तिर्नु पर्ने भएकाले केही लगानीकर्ताले शेयर बिक्री गर्ने र त्यसको प्रभाव झिनो रुपमा पर्ने सम्भावना भए पनि अन्ततः शेयर बजार बढ्ने संकेत देखिएको ब्रोकर बताउँछन् । सरकारी ढुकुटीमा रहेको रकम पनि आर्थिक वर्षको अन्त्यतिर आउने र अहिले बैंकमा देखिएको लगानीयोग्य रकम (तरलता) को पनि अन्त्य हुने अनुमान गरिएको छ । बैंकमा प्रशस्त लगानी गर्ने रकम हुने भएकाले शेयर धितोमा राखेर लिइएको ऋणको ब्याजदर पनि घट्ने अनुमान गरिएको छ । यसले गर्दा पनि शेयर बजार उकालो लाग्ने संकेत देखिएको हो ।

यसै गरी बैंक तथा वित्तीय संस्थाले वैशाख महिना लागेसँगै तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्छन् । प्रायः सबै बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा नाफा बढ्ने हुनाले पनि त्यसको सकारात्मक सन्देश बजारमा पर्ने देखिन्छ ।

नयाँ सरकार शेयर बजारप्रति सकारात्मक नभएको आरोप लागिरहेका बेला पछिल्लो समयमा अर्थमन्त्री डा.युवराज खतिवडाले पुँजी बजारमा विदेशी लगानीकर्तालाई प्रवेश गराइने त्यसका लागि नीति नियम परिवर्तन गरिसकिएको साथै तरलताको अभाव समाधान गर्नेलगायतका काम भइरहेको सार्वजनिक समारोहमै बताउन थालेपछि बजारमा यसको प्रभाव पर्न गएको ब्रोकरको भनाइ छ । 

अर्थमन्त्रीले शेयर मूल्यमा हुने उतारचढावका बारेमा भन्दा पनि नीतिगत सुधार गर्ने बताउन थालेपछि शेयर बजारमा सुधार आएको लगानीकर्ता बताउँछन् । नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री शेयर बजारप्रति सकारात्मक धारणा राख्न थालेपछि बजार बढ्न मद्दत पुगेको उनीहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस