aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रुग्ण आयोजनाबाट मुक्ति पाउँदै प्राधिकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
रुग्ण आयोजनाबाट मुक्ति पाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरण मातहत रहेका वर्षांैदेखि निर्माण हुन नसकेका आयोजना बल्लतल्त निर्माण सम्पन्न भएका छन् । रुग्ण बनेका १४ मेगावाटको कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ‘ए’ आयोजना निर्माण सम्पन्न भएका छन् । 

३० मेगावाट क्षमताको चमेलिया आयोजना पनि बल्लतल्त निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । ती आयोजना समयमै निर्माण सम्पन्न नहुँदा लागत मूल्य प्रतिमेगावाट बढेर करिब ५० करोड पुगेको छ । प्रतिमेगावाट १६ करोडमा निर्माण हुने आयोजनाको लागत तेब्बरले बढ्न पुगेको छ । रुग्ण आयोजनाको रुपमा रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ निर्माण सम्पन्न भएर व्यावसायिक रुपमा बिजुली उत्पादन हुन थालेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन गर्ने भएका छन् । आयोजनाको पहिलो र दोस्रो युनिट (३०÷३० मेगावाट)बाट क्रमश ः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन शुरु भएको थियो । आयोजनाको आज उद्घाटन भएसँगै आयोजनाबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु हुनेछ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड ब्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ । 

चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा निर्माण भएको हो । विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई भूकम्प र त्यसपछि आएको बाढीपहिरोले झनै प्रभावित पारेको हो । भूकम्प र पहिरोले आयोजनाको बाँधको दुवैतर्फ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयका आधारमा पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनाले पाएको थियो । यसका लागि ६१ करोड १९ लाख रुपैयाँ थप खर्च भएको थियो । 

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । आयोजनाले स्वियार्डबाट निर्माणाधीन त्रिशूली थ्र ‘बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १.३५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ । 

आयोजनाकै खर्चबाट निर्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मस्र्याङदी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याई राष्टिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको छ ।  प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई)सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।  शुरु सम्झौताअनुसार १७ जेठ २०७१ अर्थात् ३१ मे २०१४ नै यो आयोजना सम्पन्न हुनपर्ने थियो । विद्युत गृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने निर्णय लगायतका कारणले निर्माण प्रभावित भएको थियो । त्यसपछि आयोजनाको म्याद दुई वर्ष थपेर ३० जुन २०१६ भित्रमा सक्ने लक्ष्य राखिएको थियो । 

भूकप्प  र पहिरोले काबु बाहिरको परिस्थिति उत्पन्न भएपछि म्याद फेरि तीन वर्ष थपेर र ३० अप्रिल २०१९ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण पछिल्लोपटक थपिएकै समयमा सम्पन्न भएको हो ।  आयोजना राष्टिय विद्युत् प्रणाली र त्यसमा पनि मुख्य रुपमा ‘लोडसेन्टर’ अर्थात काठमाडौं उपत्यकाकोको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि भरपर्दो आधार तयार भएको छ ।  आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । 

आयोजना वर्षको साढे आठ महिना पूर्ण क्षमता (६० मेगावाट)मा चल्ने छ । त्यस्तै हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट मुलकको  विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलित र विश्वसनीय बनाउन थप बल पुग्नेछ । यो आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान दिनेछ । यसबाट कुलेखानी जलाशयको पानी बचत गर्न र आयातित विद्युत्को परिमाण घटाउन सहयोग पुग्नेछ ।  

आयोजनाका मुख्य संरचना र प्रसारण लाइनले प्रभावित रसुवा, नुवाकोट, धादिङ र काठमाडौं जिल्लामा आयोजना सहयोग कार्यक्रमअन्तर्गत ८ वटा विद्यालय भवनको निर्माण, किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नती खानेपानी आपूर्ति प्रणालीको कार्यान्वयन, त्रिशूली हस्पिटल जाने सडको स्तनोन्नति, हस्पिटललाई उपकरण, खेल मैदान निर्माण, सिंचाइ  सुविधा उपलब्ध गराउने जस्ता सामाजिक विकासको कामका लागि झण्डै ४० करोड रुपैयाँ खर्च भएको छ । 
 

प्रतिक्रिया दिनुहोस