aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रधानमन्त्री ओलीद्वारा माथिल्लो त्रिशूली थ्री ‘ए’को ‘वार रुम’बाटै उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
प्रधानमन्त्री ओलीद्वारा माथिल्लो त्रिशूली थ्री ‘ए’को ‘वार रुम’बाटै उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको उद्‍घाटन गरेका छन् । ६० मेगावाटको उक्त परियोजनाको सोमबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर उद्‍घाटन गरेका हुन् ।

काठमाडौंबाट प्रधानमन्त्री ओलीले र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट उदघाटन गरेका हुन् । 

आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ । अनुमानित लागत रु. १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । 

इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो । 

शुरुमा वि.सं. २०७१ जेठ १७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत चिनियाँ कम्पनीसँग रु. आठ अर्ब ९१ करोड ७८ लाख ९आठ करोड ९१ लाख ७८ हजार डलर) मा ठेक्का सम्झौता भएको थियो । 

शुरुमा विद्युतगृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो ।

उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु हुनेछ । यसअघि माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको पहिलो र दोस्रो युनिट ९३० (३० मेगावाट)को परीक्षण उत्पादन सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस