एजेन्सी । मंगलबार भारतीय शेयर बजारले शानदार सुरुवातका साथ नयाँ रेकर्ड कायम गरेको छ । भारतीय शेयर बजार परिसूचक सेन्सेक्सले पहिलोपटक ४१ हजारको बिन्दु पार गरेको छ भने निफ्टी पनि १२ हजार १०४ को बिन्दुका साथ नयाँ उचाईमा पुगेको छ ।
कारोबारका क्रममा सेन्सेक्स २३१ अंकको बढोत्तरीका साथ ४१ हजार १२०।२८ को बिन्दुमा पुगेको छ भने निफ्टी ५९ अंकले बढेर १२ हजार १३२।४५ को बिन्दुमा पुगेको छ । यो भारतीय शेयर बजारमा हालसम्मको सबैभन्दा उच्च स्तर हो ।
विश्वव्यापी अधिकांश शेयर बजारमा बढोत्तरी देखिएको र यसको असर भारतीय शेयर बजारमा पनि परेको विश्लेषकहरुले बताएका छन् । अमेरिका–चीन बीच पहिलो चरणको व्यापार सम्झौता आगामी महिना हुने अपेक्षा गरिएसँगै विश्व बजारले सुधारको गति लिएको बताइएको छ । यो सँगै एशियाली शेयर बजारका अधिकांश परिसूचकहरुमा बढोत्तरी देखिएको छ ।
यसैगरी आरबीआईको आगामी महिना हुने मौद्रिक नीतिको समीक्षा वैठकमा फेरि पनि ब्याजदर घट्ने अपेक्षासँगै यसको प्रभाव भारतीय शेयर बजारमा देखिएको हुनसक्ने विश्लेषकहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस