aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कारको दुनियाँमा 'अल्टो'को दबदबा, हालसम्म बिकिसके ३८ लाख कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
कारको दुनियाँमा 'अल्टो'को दबदबा, हालसम्म बिकिसके ३८ लाख कार

एजेन्सी । भारतको सबैभन्दा ठुलो कार निर्माता कम्पनी मारुति सुजुकीले बताए अनुसार उसको लोकप्रिय उत्पादन 'अल्टो'को बिक्रीले ३८ लाखको गणना पार गरेको छ । आर्थिक मन्दीले भारत आक्रान्त बनिरहेको बेला सन् २००० मा पहिलो पटक बजारमा आएको अल्टोको बिक्रिले रेकर्ड बनाएर खुसीको संचार गरेको छ ।

समाचारहरुमा जनाइए अनुसार आर्थिक मन्दीको मारमा भारतका सबजसो गाडी उत्पादक कम्पनी परिरहेका बेला मारुतिका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले आफ्नो बेहतर डिजाइन, उच्च इन्धन क्षमता, उन्नत सुरक्षा उपायका कारण यो कार आम ग्राहकको पहिलो रोजाई बनेको बताएका छन् ।

कार निर्माता कम्पनी मारुति सुजुकीले बताए अनुसार अल्टो लगातार १५ वर्षसम्म सालसम्म भारतमा धेरै बिक्रीहुने कारको रुपमा रहिआएको छ । सन् २००८ सम्ममा १० लाख अल्टो बिक्रि भईसकेका थिए ।  सन् २०१२ मा २० लाख अल्टो बिक्रि भएकोमा २०१६ मा ३० लाखको संख्या पुगेको थियो । अहिले यसको कुल बिक्रि संख्या ३८ लाख नाघेको हो ।

मारुतिले यसै वर्ष  बीएस-६ मानकमा पर्ने अल्टो सार्वजनिक गरेको छ ।  यसको इन्धन दक्षता २२.०५ किलोमीटर प्रति लीटरसम्म रहेको कम्पनीले दाबी गरेको छ । यो कारमा एयर ब्याग, सुरक्षा साइरन र उन्नत ब्रेक प्रणाली रहेको छ । यसमा रिवर्स पार्किंग सेन्सर, स्‍पीड वार्निंग र चालक तथा सह-चालकको सीट बेल्टबारे जानकारी दिने प्रणाली समेत छ ।


सर्वाधिक कार बिक्रि गरेपनि मारुति सुजुकीले लगातार ९ औं महिना अर्थात् अक्टोबरमा समेत आफ्नो उत्पादनमा कटौती गरेको छ । अक्टोबरमा कम्पनीले कुल १,१९,३३७ गाडी उत्पादन गरेको छ जबकि अघिल्लो वर्षयहि महिनामा यो कम्पनीले   १,५०,४९७ वटा गाडी उत्पादन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस