aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भोलिदेखि अर्को बाणिज्य बैंकको नाम गुमनाम हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ मंसिर २०७६
भोलिदेखि अर्को बाणिज्य बैंकको नाम गुमनाम हुँदै

काठमाडौं । एकताका चर्चित बनेका बैंकको अहिले नाम निसाना छैन् । भोलिदेखि ‘नेपाली जनताको बैंक’ भन्ने नारा घन्काउँदै आएको जनता बैंक पनि गुमनाम हुँदैछ । भोलिदेखि संस्थापक र सर्वसाधारण लगानीकर्ताले ‘नेपाली जनताको बैंक’ को नारा लगाउन छाडेर ग्लोबल आइएमई बैंकको नारा ‘बैंक फर अल’ घन्काउने छन् । 

लगानीकर्ताले नेपाली नारा ‘नेपाली जनताको बैंक’ गुनगुनाउन छाडेर अग्रेजी नारा ‘बैंक फर अल’ भन्ने छन् । जनता बैंकका शेयरधनीको प्रमोशन हुँदै छ । उनीहरु भोलिदेखि अगे्रजीको नारामात्र गुन गुनाउने छैनन् , शेयरधनी पनि ग्लोबल आइएमई बैंकका हुने छन् । जनता बैंकका शेयरधनी चुक्ता पुँजी र निक्षेप संकलनमा पनि सबैभन्दा बढी भएको बैंकको मालिक हुनेछन् ।

एकताका निकै चर्चा कमाएका नेपाली बैंकहरु भोलिदेखि गुमनाम हुने जनता बैंकजस्तै भएका थिए । केही वर्षअघि सबैभन्दा चर्चामा रहेको किष्ट बैंक एकाएक प्रभुमा मर्ज हुन पुग्यो । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली कर्जा अपचलनमा परेपछि उक्त बैंक समस्यामा परेपछि प्रभुमा बिलय भयो । पहिला लोगो भित्र सानो अक्षरमा अग्रजीमा किष्ट राखिएको थियो । अहिले उक्त अग्रजी अक्षर पनि हटाएर बैंकको नाम निशाना छैन् ।

यसैगरी, तत्कालीन ग्राण्ड बैंक समस्या परेपछि त्यो पनि प्रभु बैंकमा गाभियो । अहिले उक्त बैंकको प्रमुख कार्यकारी अधिकृत (सइओ) अशोक शेरचन छन् । प्रभु बैंकले ‘समृद्धिसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा लगाउँदै आएको छ । ग्राण्ड बैंकको पनि अहिले नाम निसाना छैन् ।

त्यसैगरी, तत्कालिन नेपाल इन्ड्रष्टियल एण्ड कमर्शियल बैंक (एनआइसी) ले  बैंक अफ एशियालाई गाभ्यो । अहिले उक्त बैंक एनआइसी एशिया बैंकको नाममा सञ्चालनमा छ । अहिले उक्त बैंकले ‘बैंक पनि साथी पनि’ नारा घन्काइरहेको छ । एनआइसी बैंकले एशिया पुच्छरमा गाँसेको एनआइसी एशिया बनाएको छ ।

त्यसैगरी, तत्कालिन लुम्बिनी बैंक ३ वर्षअघि बैंक अफ काठमाण्डूमा गाभिएको छ । मर्ज भएपछि बैंक अफ काठमाण्डू लुम्बीनीका नाममा सञ्चालनमा आएको उक्त बैंकले गत वर्षदेखि पुच्चरमा लुम्बिनी झुण्डाएकोलाई हटाएर बैंक अफ काठमाण्डू मात्र भएको छ । यसले पनि ‘ह्ी मेक यूवर लाइफ इजियर’ भन्ने नारा घन्काइरहेको छ।

पहिला नाम चलेका केही वाणिज्य बैंक गुमनाम भएजस्तै विकास बैंक र वित्त कम्पनी पनि मर्जमा गएर नाम हराएको छ । केही वर्षअघि २१८ बैंक तथा वित्तीयसम्म पुगेका थिए । अहिले १६६ मा झरेका छन् ।

नेपालमा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्नरगाभिनका लागि सरकारले दशकअघि प्रोत्साहनको नीति अबलम्बन गर्यो । त्यसपछि बैंक तथा वित्तीय संस्था गाभिने र गाभ्ने क्रम सुरु भएको हो । 

२०७२÷७३ को मौद्रिक नीतिमार्फत् २०७४ असार मसान्तसम्म ४ देखि २५ गुणाले पुँजी बढाउनु पर्ने व्यवस्था गर्यो । यसले पनि धेरै संस्थाहरु मर्जरमा जान बाध्य भए । मर्जर र एक्वायरकै कारण हाल नेपालमा २८ वाणिज्य बैक, २५ विकास बैंक र २२ फाइनान्स कम्पनी र ९१ वटा लघुवित्त संस्था सञ्चालनमा ।

राष्ट्र बैंकको पुँजी वृद्धिको नीतिमा सबैभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर र एक्विजिस भए । केही समय पहिला ८९ को संख्यामा रहेका विकास बैंक हाल २५ र ७६ वटा रहेका फाइनान्स कम्पनी २२ वटामा झरेका छन् । यो अवधिमा ४ वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिमा सामेल भएर हाल २८ वटामा झरेका छन् । जनता बैंक ग्लोबल आइएमइमा गाभिएपछि वाणिज्य बैंको संख्या २७ मा झर्दै छ ।

प्रतिक्रिया दिनुहोस