
काठमाडौं । सधैं तनावमा रहने बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिजो झनै तनावमा देखिए । नेपाल बैंकर्स संघको ३३औं वार्षिक साधारणसभामा उपस्थित भएका सीईओले अनौपचारिक रुपमा मात्र होइन औपचारिक रुपमा नै तनावमा रहेको अभिव्यक्ति दिए ।
उनीहरुले कति बेला जेल जानुपर्ने हो भन्ने त्रास जहिले पनि हुने गरेको खुलासा गरे । चनियाँ ह्याकरले वितन्डा मच्चाएपछि तनावमा रहेका उनीहरु बैंक अफ काठमाण्डूका पूर्वसीईओ अजय श्रेष्ठसहित ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपछि झनै तनावमा देखिन्छन् ।
नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंक तथा वित्तीय संस्थामा काम गर्न कर्मचारी डराउन थालेको बताए । संघको साधारणसभा तथा नयाँ कार्यसमिति घोषणा सभामा बोल्दै बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारीको काम गर्ने मनोबल उच्च नरहेको प्रष्ट पारे ।
बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई बैंकिङ कसुरमा जेल हालेको घटनातर्फ इंगित गर्दै बैंकका कर्मचारी कति बेला कुन केसमा आफू पनि जेल जानुपर्ने हो भन्ने त्रासले काम गरिरहेको उनले बताए ।
दाहालमात्र होइन, त्यहाँ उपस्थित सीईओ तथा कर्मचारीले अनौपचारिक रुपमा पनि डर त्रास कायम रहेको बताए । एक बैंकका सीईओले त सीईओभन्दा तल्लो तहमै बस्न रुचाएको बताए । सीईओ हुने तरखरमा रहेका उनले सीईओ हुन नपाए पनि हुन्थ्योसम्म भन्न भ्याए । सबैभन्दा अनुशासित क्षेत्रलई पुलिस प्रशासन र कानुनले चिन्न नसकेको बैंकरको आरोप छ । प्रहरी र न्यायालयले बैंकर भनेका अधिकांश खराब काम गर्ने प्रवृत्तिका हुन्छन भन्ने मानसिकता पालेका कारण बैंकका कर्मचारी त्रसित बन्न पुगेको उनीहरुले खुलासा गरे ।
बैंकका सीईओले खराब काम गर्नेलाई सजाय दिनु आवश्यक रहेको तर पुराना कानुनका आधारमा असल व्यक्तिमाथि ज्यादती हुनु नहुने धारणा पनि औपचारिक तथा अनौचारिक रुपमा राखे । केही बैंकर बदमास होलान तर अहिलेको कानुनले इमान्दार बैंकरलाई समेत काम गर्ने वातावरण नबनेको प्रतिउनीहरुको अक्रोश थियो ।
पछिल्लो समय बैंक व्यवस्थापनको मुख्य जिम्मेबारीमा रहेका सीईओको तनावको पारो झनै बढेको छ । बैंक सञ्चालक समितिले तोकेको सिमा पुर्याउनुपर्ने जिम्मेबारी त छदैछ, त्यसमाथि पनि विभिन्न समयमा आउने अनेक घटनाले झनै तनाव थपिदिएको छ । दैनिक बैठक, सञ्चालक समितिसँग नियमित सम्पर्क, सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले पनि सीईओहरु सधै तनावमा देखिन्छन् । उनीहरुको तनावलाई थप उचाइमा पुर्याउने काम ह्याकर र सीआईबी गरेको छ ।
चिनियाँ ह्याकरले वितन्डा मच्चाएको एक महिना नहुँदै पुनः त्यस्तै खाले घटना घट्न पुग्यो । करिब डेढ दर्जन बैंकका चेक तथा एटीएमबाट सयौं ग्राहकको खाताबाट रकम निकाल्ने गिरोह पक्राउ पर्यो ।
त्यस अगाडि बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठसहित ११ जनालाई सीआईबीले पक्राउ गर्न पुग्यो । ऋण लगानीमा देखिएको समस्यालाई लिएर सीआईबीले उनीहरुलाई पक्राउ गर्यो । त्यसले झनै सीईओ क्रसित बन्न पुगेको छ । बैंक सञ्चालकहरुले आफ्ना मान्छेलाई ऋण प्रवाह गर्न बढी दबाब दिने गरेका छन् । सञ्चालकले भनेको व्यक्तिलाई ऋण नदिँदा पद धरापमा पर्ने र दिँदा बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठजस्तै लफडामा परिने हो कि भनेर तर्सिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस