aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

व्यापारीहरु 'प्रेमपत्र'बाट आतंकित !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
व्यापारीहरु 'प्रेमपत्र'बाट आतंकित !

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय क्षेत्रमा जति ठूलो परिवर्तन आए पनि ब्याजदर भने एउटै भएको गुनासो गरेका छन् ।

शुक्रबार ग्लोबल आइएमई र जनता बैंकको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले भने–‘बैंक तथा वित्तीय संस्था ठूला वा सानो हुनुले व्यापारीलाई खासै फरक परेको छैन ।’ ठूला बैंक भएपछि सञ्चालन खर्च पनि घट्छ तर बैंकको ब्याजदर भने सानो हुँदा पनि उही, ठूला भए पनि उही रहेको प्रति उनको असन्तुष्टि देखिन्थ्यो ।  १८ वटा वित्तीय संस्था गाभिएर बनेको ग्लोबल आइएमई बैंकलाई उनले अब ऋणको ब्याजदर कम गर्नेतर्फ पहल गर्न आग्रह गरे ।

उनले भने– ‘बैंक तथा वित्तीय संस्था सयौ हुँदा हामीलाई च्वाइस थियो अब संख्या कम हुँदा त्यो पनि कम हुने भयो । त्यसमाथि विभिन्न बहानामा व्यापारीबाट बैंकले शुल्क भने उठाइरहने गरिन्छ त्यसैले अब ठूलो बैंक भएपछि वित्तीय अनुशासन सिकाउने जिम्पमा पनि ग्लोबल आइएमईकै भागमा परेको छ।’ एकातिर बैंकरहरु कति बेला प्रहरीको पत्र आउने हो भनेर त्रासमा बस्ने अनि व्यापारीह कति बेला ब्याजदर बढेको गोप्य पत्र आउने हो भनेर त्रासमा बस्नु परेको उनको गुनासो थियो ।

ठूला पूर्वाधार विकासमा लगानी गर्ने वित्तीय संस्था जुटाउन कठिन भइरहेको बेलामा ‘कोर क्यापिटल’ नै २४ अर्ब भएको यो बाणिज्य बैंकले भने ठूला परियोजनामा लगानी गर्न उनले सुझाव दिए ।

त्यस्तै सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यवहाक अध्यक्ष विष्णु अग्रवालले नेपालमा वित्तीय संस्था धेरै भएकाले थोरै र चुस्त बनाउन लागिपरेको नेपाल राष्ट्र बैंकले सही नीति लिएको बताए । क्षेत्रको ठूलाको ठूलो पुँजी भएको बैंक भएकाले अब नेपालमा पूर्वाधार विकासमा सहज हुने धारणा राखेका थिए । उनले भने–‘अहिले व्यापारीहरु बैंक तथा वित्तीय क्षेत्र र सरकारको बीचमा परेका छन् । कहिले करको आतंक, कहिले बैंकको केवार्इसी त कहिले ब्याजदर ।’

उनले अहिले सबै व्यापारिक क्षेत्रलाई केही राहत मिल्ने गरी आर्थिक वृद्धिदर भइरहेकाले सबै उत्साहित भएको पनि बताए । आर्थिक वृद्धिदर हुने  भनेको आर्थिक गतिविधि बढिरहेका छन् । त्यसको मतलब बैंक तथा वित्तीय क्षेत्रमा पनि तरलताको साइकल भने घुमिरहेको छ भन्ने निजी क्षेत्रले बुझेको उनको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने बैंक तथा वित्तीय क्षेत्रले अब लगानीलाई प्राथमिकतामा राख्नुपर्ने बेला भएको बताए ।  व्यापारीहरुले पनि अब नेपाली फाइनान्सिङबाटै ठूला परियोजना सञ्चालन गर्न सक्ने संकेत गरेको उनको भनाइ थियो । बैैंक तथा वित्तीय क्षेत्रले वित्तीय अनुशासनका नाममा दुःख दिइरहेको समेत उनले गुनासो गरे । उनले भने– ‘बैंकमा वर्षौदेखि कारोबार गर्दैै आइरहेको व्यापारीलाई दैनिक जस्तो फर्म भराउन लगाउने, एउटा ब्याजदरमा परियोजना तयार पारेर बैंकबाट ऋण झिकेर सञ्चालन गर्न नपाउदै ब्याजदर बढेको ‘प्रेम पत्र’ बैंकबाट आउने गरेको छ ।’

कम्तिमा एउटा परियोजना सञ्चालन नगर्दासम्म बैंकले तोकेको ब्याजदर यथावत राखिदिन समेत उनले आग्रह गरे । आर्थिक अवस्थामा सुधार आइरहेको भए पनि केही समय अघि विभिन्न शिर्षकमा सरकारले लागू गरेको करका कारण बजारमा गैरकानुनी तरिकाले सामान आइ बजारमा कृतिम मूल्यवृद्धि भइरहेको उनले जानकारी समेत गराए ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने बैंक मर्ज पनि अन्य बैंक तथा वित्तीय संस्थालाई मर्जमा जान बाध्यता सिर्जना हुने वातावरण आउन थालेको बताए । ग्लोबल आइएमई र जनता बैंकले छोटो समयमा सफलतापूर्वक मर्जको प्रक्रिया सम्पन्न गरेकाले यो पाठ अन्य बैंक तथा वित्तीय सस्थाले सिक्न सक्ने धारणा राखे । उनले भने– ‘बैंकर्स संघको एक सदस्य घटेकोमा केही दुःख लागे पनि समग्र वित्तीय क्षेत्रका लागि यो मर्ज एक सिनर्जीका रुपमा सावित हुने बताए ।

त्यस्तै जनता बैंकका अध्यक्ष केशव रायमाझीले भने आम जनताको बैंक बनाउने सोचका साथमा २०६६ सालमा जनता बैंक स्थापना गरिएको र यसलाई अझ सशक्त बनाउन विदेशमा समेत सञ्जाल भएको बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज गरिएको धारणा व्यक्त गरेका थिए ।

उनले भने–‘सबै जनताको बैंक जनता बैंकमा विभिन्न अन्य वित्तीय संस्था मर्ज भएर आफैंमा मजबुद बैंक बन्ने सम्भावना हुँदाहुँदै पनि नेपालको अर्थतन्त्रको आकार, जनसंख्याको आकार र वित्तीय क्षेत्रमा देखिएको आवश्यकतालाई मध्यनजर गरेर जनता बैंकको सञ्चालकले  मर्जमा जाने निर्र्णय लिएको हो ।’

त्यस्तै ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने देशको आवश्यकता वित्तीय अनुशासनलाई अझ मजबुद बनाउन जनता बैंकसँग मर्ज गर्ने निर्णय ग्लोबल आइएमई बैंक सञ्चालकले निर्णय गरेको बताए ।

उनले भने– ‘बैंकले अब सरकारले तय गरेका आर्थिक लक्ष्य हासिल गर्न बैंकले आफ्नो क्षेत्रबाट पहल गर्ने छ र बैंकलाई पहिलोको ग्लोबल आइएमई बैंकभन्दा पनि अब नयाँ जोस जागर भएको बैंकका रुपमा आम शेयरधनी र ग्राहकले पाउने विश्वास समेत दिलाए ।

ग्लोबल आइएमईले आफ्ना विदेश स्थिति कार्यालय विस्तार गर्ने घोषणासमेत गरेका छन् । अब ग्लोबल आइएमई बैंकले चाँडै नै जापान र दक्षिण कोरियामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरि विप्रेषणमा सरकारलाई सहयोग गर्ने घोषणासमेत गरे ।

बैंक वित्तीय संस्था परिसंघका अध्यक्ष एवम् एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले भने–‘ बैंक वित्तीय संस्था कम हुँदा सञ्चालन खर्च कम हुनुका साथै वित्तीय अनुशासन कायम गर्यौं भने सहज हुन्छ । बैंक वित्तीय संस्था नियमनकारी निकाय र सरकारबीच पुलको काम गर्दै परिसंघले वित्तीय क्षेत्रमा संस्थागत सुशासन कायम गर्न लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस