aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

१० बैंककोे नगद लाभांश शेयरधनीको खातामा, बोनस शेयर भने आउन बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
१० बैंककोे नगद लाभांश शेयरधनीको खातामा, बोनस शेयर भने आउन बाँकी

काठमाडौं ।  विभिन्न १० वटा वाणिज्य बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा राखिदिएका छन् । बोनस शेयर भने अझै राख्न बाँकी भएको सम्बन्धित बैंकको भनाइ छ ।

अहिलेसम्म सिटिजन्स, माछापुच्छ्रे, कुमारी, बैंक अफ काठमाण्डू, एनआईसी एसिया, सानिमा, सिद्धार्थ, सन्राइज, ग्लोबल आइएमई, जनता, मेगा र प्रभु गरी १२ वाणिज्य बैंकले वार्षिक साधारणसभा गरिसकेका छन् । तीमध्ये कुमारी र प्रभुले बोनस मात्र दिएका कारणले शेयरधनीको खातामा नगद लाभांश आउने कुरा भएन् । बाँकी १० वाणिज्य बैंकले भने शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेको बताएका छन् । बोनस लाभांश भने पठाउन अझै केही समय लाग्ने उनीहरुको भनाइ छ।

यस वर्ष सबैभन्दा पहिले सिटिजन्स बैंकले शेयरधनीको खातामा नगद लाभांश राखिदिन पुग्यो । उक्त बैंकले दशैं अघि नै वार्षिक साधारणसभा गरेर १२ प्रतिशत नगद शेयरधनीको बैंक खातामा राखिदिएको थियो । ३ प्रतिशत बोनस भने पठाउने तयारी गरेको छ । 

यसैगरी माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, एनआइसी एसिया र सानिमा बैंकले तिहार अघि नै शेयरधनीको बैंक खातामा नगद  लाभाश राखिदिए । माछापुच्छ्रे बैंकले  ११ प्रतिशत, बैंक अफ काठमाण्डूले ११ प्रतिशत, एनआईसी एसिया र सानिमाले ११.०५, ११.०५ प्रतिशत नगद लाभांश वितरण गरेका थिए । 

उनीहरुले वितरण गरेको बोनस शेयर भने लगानीकर्तालाई पठाइनसकेको जनाएका छन् । माछापुच्छ्रेले ५ प्रतिशत, बैंक अफ काठमाण्डूले ६ प्रतिशत, एनआईसी एसिया र सानिमा बैंकले १०,१० प्रतिशत बोनस शेयर बाड्ने प्रस्ताव गरेका थिए । कुमारी बैंकको १० प्रतिशत बोनस पनि छिट्टै शेयरधनीको खातामा पठाउने तयारी गरेको छ ।

यसैगरी सिद्धार्थले १५.२६ प्रतिशत, सनराइज बैंकले ५.८ प्रतिशत, ग्लोबल आइएमईले १२.७५ प्रतिशत, जनताले ६ प्रतिशत र मेगा बैंकले ११.७५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेका छन् । उनीहरुले वितरण गरेको बोनस शेयर भने लगानीकर्तालाई पठाइसकेका छैनन् । सिद्धार्थले १० प्रतिशत, सनराइजले १० प्रतिशत, ग्लोबल आइएमईले १२.७५ प्रतिशत, जनताले ६ प्रतिशत र प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरिसकेका छन् ।

अन्य वाणिज्य बैंकले भने वार्षिक साधारण सभा गरी नसकेका कारण लाभांश वितरण गरेका छैनन् । स्ट्यान्डर्ड चार्टर्डले आज मात्रै वार्षिक साधारण सभा गर्दैछ । उक्त बैंकले २२.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । एसबीआईले यही मंसिर २९ गते, लक्ष्मी र सिभिलले पुस ६ गते र नेपाल बंगलादेश बैंकले पुस ७ गते वार्षिक साधारण सभा गर्दैछ । ती बैंकले वार्षिक सभा गरेपछि मात्र नगद लाभांश शेयरधनीको खातामा पठाउने छन् ।

यतिबेला लगानीकर्ता आफूसँग शेयर भएको कुन कम्पनीले कति लाभांश दिए भनेर आंैला गन्न थालेका छन् । लगानीकर्तामा लाभांश लहर चलेको छ । लाभांश घोषणासँगै साधारणसभा बोलाउने क्रम पनि जारी छ । नेप्सेमा सूचीकृत २७ वणिज्य बैंकमध्ये २४ वटाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । तीन वटा वाणिज्य बैंक कृषि विकास बैंक, एनसीसी बैंक र सेञ्चुरीले हालसम्म लाभांश घोषणा गरेका छैनन् । 

गत वर्ष पुँजी वृद्धि अनुपातमा व्यापार विस्तार हुन नसकेका कारण अधिकांश बैंकहरुको लाभांश अनुपात कम थियो । त्यसमा पनि उनीहरुले नगदमा मात्र जोड दिएका थिए । तर, अब विस्तारै बैंकहरुले पुँजी वृद्धिसँगै अघिल्लो वर्षको तुलनामा लाभांश अनुपात केही बढेको छ । नगद लाभांशमा मात्र जोड दिएका कम्पनीहरुले पनि यसपटक बोनस अनुपातलाई थप वृद्धि गरेका छन् । यसपटक धेरैजसो कम्पनीले बोनस शेयरलाई प्राथमिकतामा पारेका छन् । लाभांश अनुपात पनि गत वर्षभन्दा बढेको छ ।

मेगा बैंकले नगद लाभांशलाई प्राथमिकता दिएको छ भने कुमारी र प्रभुले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । अरुको पनि बोनस र नगद मिश्रित लाभांश छ ।
 
 

प्रतिक्रिया दिनुहोस