
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो माघ १ गतेदेखि बाणिज्य बैंकमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप नियन्त्रणका एन्टी मनि लाउडरिङ सिस्टम (गो–एएमल) लागू गर्ने भएको छ ।
वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा आंकतवादी लगानी निवारणका लागि गर्नुपर्ने विद्युतीय माध्यमबाट दिइने प्रणालीलाई गोएएमल भनिन्छ । गो–एएमलले निर्धारित गरेको मापदण्डको विवरण वित्तीय कारोबारमा स्वीकार गरिने भएको छ । यसका लागि बैंकहरुलाई ग्राहकको थप विवरण अभिलेख, थप दक्ष जनशक्ति, प्रविधिको आवश्यकतापर्ने जनाइएको छ ।
बाणिज्य बैंकहरुले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ऐन को परिच्छेद – ३ अनुसार ग्राहकको पहिचान तथा कारोबारसम्बन्धी व्यवस्थाको दफा ७ बमोजिम ग्राहकको पहिचान गर्नुपर्ने, त्यसको अभिलेख राख्नुपर्ने र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमा जोखिम निर्धारण गर्नुपर्ने हुन्छ ।
त्यस्तै ग्राहकको पेसा, स्थान, व्यवसायको प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र सेवा प्रवाह गर्ने प्रणालीसमेत गरी जोखिमका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्ने हुन्छ ।
बैंकले आफ्ना ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा वा ग्राहकको कामकारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन (अनगोइङ ड्यू डिलिजेन्स) गर्नुपर्ने हुन्छ ।
त्यसबाहेक वायर ट्रान्सफरसम्बन्धी कारोबार गर्ने नेपालको वित्तीय संस्थाले वायर स्थानान्तरणको अनुगमन, सोधखोज, निलम्वन, अस्वीकार, वास्तविक धनी तथा हिताधिकारीको पहिचान, भुक्तानीलगायतका विषयमा जोखिममा आधारित नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्नेछ ।
के हो गो–एएमएल प्रणाली ः?
बैंक तथा वित्तीय संस्थाका ग्राहकको कारोबारमा देखिएको गतिविधिलाई डिजिटल रुपमा नियमक निकायलाई पठाउने प्रविधि नै गो–एएमएल प्रणाली हो । जसमा दैनिक रुपमा ग्राहकले गरेको कारोबारलाई बैंकले नियमक निकायमा रिर्पोटिङ गर्ने डिजिटल फम्र्याट हुन्छ । बैंक तथा वित्तीय संस्थाले कारोबार गरेका ग्राहकमध्ये शंकास्पद लागेका कारोबार अनलाइन माध्यमबाटै नियमक निकायमा पठाउन सक्छन् ।
बैंकहरुको फितलो तयारी
माघ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको यो प्रणाली शुरु हुन अब मात्र एक महिनामात्रै बाँकी रहेको सन्दर्भमा अधिकांश बाणिज्य बैंकहरुले गो–एएमएलका लागि आवश्यक पर्ने तयारी गरेका छैनन् । हाल बाणिज्य बैंकहरुले नियामक निकाय राष्ट्र बैंकमा म्यानुअली रिर्पोटिङ गरिहेका छन् । जुन गो–एएमएल प्रणाली लागू गर्नलाई यो विधि काम लाग्दैन ।
हाल बैंकका ग्राहकलाई व्यवस्थापन गर्नका लागि प्रविधि नै विकास नगरेका कारण लाखौ ग्राहकको सूचना गो–एएमएल प्रणालीमा कसरी लैजान्छन् ? अर्को गो–एएमएलमा पठाउने ग्राहकको बारेमा आन्तरिक रुपमा अनुसन्धान गर्नुपर्ने हुन्छ । तर, बैंक तथा वित्तीय संस्थाले आन्तरिक अनुसन्धान इकाई नै बनाएका छैनन् ।
आन्तरिक अनुसन्धान इकाई नबाएका कारण शंका लागेकै भरमा कुनै पनि ग्राहकलाई गो–एएमएल प्रणालीबाट नियामक निकाय पठाउँदा निर्दोष ग्राहकले अनावश्यक दुःख पाउन सक्ने सम्भावन बढेर जान्छ । बैंकहरुले लिने गरेको ग्राहकको विस्तृत विवरणसमेत गो–एएमएल प्रणाली म्याच गर्ने खालको नहुँदा गो–एएमएल प्रणालीमार्फत तत्कालै रिर्पोटिङ गर्न कठिन हुन्छ ।
उच्च पदस्थ ग्राहक छन भने उसको कारोबारमा बढी जोखिम हुन्छ भन्ने आधारमा खातावालाको बढी नै नेगरानी हुन्छ र सोही अनुरुप नियामक निकायमा रिर्पोटिङ हुन्छ । बैंकहरुको पर्याप्त तयारी नगरी राष्ट्र बैंकको निर्देशनलाई मात्र पालना गर्दा बैंकका निर्दोष ग्राहक फस्न सक्ने सम्भावन बढेर गएको छ ।
धेरै बैंकका प्रमुखहरु यो विषयमा कुरा गर्न नै मान्दैनन् । यसको मतलब राष्ट्र बैंकको निर्देशन पालना गर्ने सवालमा कुनै पनि तयारी नरहेको देखिन्छ । पुराना बैंक तथा वित्तीय संस्थाहरुलाई झन यो प्रविधिमा अपग्रेड गर्न र पुराना ग्राहकलाई गो–एएमएल प्रणालीमा अपलोड गर्न कठिन भइरहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकका एएमएल युनिटका प्रमुख विनयप्रसाद अधिकारी बताउँछन् ।
उनले भने–‘अहिले धेरै जस्तो बैंकले आफ्ना सबै शाखामा गो–एएमएल प्रणालीमा भएको फम्र्याट अनुसार आफूलाई अपलोड गर्दै आइरहेका छन् ।’ एनसीसी बैंकमा भने सम्पत्ति शुद्धीकरण निवारण इकाई नै बनाएर काम गरिहेको उनले बताए । उनले भने–‘अहिले हामी पुरानो बैंक भएका कारणले पुराना ग्राहकको विस्तृत विवरणलाई गो–एएमएल प्रणालीमा अपलोड गर्न चुनौतीपूर्ण भइरहेको छ ।’
नेपालमा भखर्रैं बैंकिङ प्रणाली प्रविधिमैत्री हुँदै गएकाले पनि तत्कालका लागि केही समस्य आउन सक्छन् । तर, ती समस्यलाई समाधान गर्दै जाँदा अन्तर्राष्ट्रियको गो–एएमएल प्रणालीमा नेपाली बैंकहरुले पनि चाँडै नै आफूलाई परिवर्तन गर्न सक्ने उनीको धारणा छ ।
कुनै कारोबार शंकास्पद देखिए वा सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले गरेको वा भएको देखिएमा वा शंका गर्नुपर्ने मनासिब कारण भएमा
सो सम्बन्धमा अनुसन्धान तथा जाँचबुझ गर्नुपर्ने हुन्छ । यसका लागि बैंकमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी विषेश अनुसन्धान तथा जाँचबुझको ज्ञान भएका र व्यस्थापन गर्न सक्ने जनशक्ति, चुस्त सिस्टम, त्यसको उपर्युक्त सांगठनिक संरचना र तत्परता आवश्यक हुन्छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी ईको सिस्टममा काम गर्ने डेटम् सिस्टमस्का प्रमुख कार्यकारी अधिकृत गिरीश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्रावधानको कार्यान्वयन गर्न आवश्यकपर्ने साधन, स्रोत, प्रविधि र ज्ञान नहुँदा चुनौतीपूर्ण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस