
काठमाडौं । २०७६ असार मसान्तको तुलनामा २०७६ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.५ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.८ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११४.५६ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३६ रहेको थियो ।
त्यस्तै, मुलुकको शोधनान्तर अवस्था बचतमा देखिएको छ । चालु आर्थिक वर्षको ४ महिना (कात्तिकसम्म) मा शोधनान्तर २७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको हो । मुलुकबाट बाहिरिने भन्दा भित्रिने रकम बढ्दा शोधनान्तर बचतमा रहन्छ । ४ महिनाको औसत मूल्य वृद्धि भने ६.२७% रहेको छ । निर्यात व्यापारमा पनि सुधार हुँदै गएको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षका कात्तिकसम्मको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार आयात ६.९% ले घट्दा निर्यात भने २३.९% ले बढेको छ । यसको अर्थ स्वदेशी वस्तु तथा उत्पादन विदेशी मुलुकमा पठाउने क्रम बढ्दो छ भने आयातीत सामान खपत घट्दो क्रममा रहेको देखिन्छ ।
यो अर्थतन्त्रका लागि राम्रो पक्ष हो । यस्तै, ८.७ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप ३.१% बढेको छ भने निजी क्षेत्रतर्फको कर्जा प्रवाह पनि ५% ले बढेको देखिएको छ । यता, चालु खाता भने ३७ अर्ब ३० करोड रुपैयाँले घाटामा रहेको छ । रेमिटेन्स आय पनि २.३% ले घटेको छ ।
प्रतिक्रिया दिनुहोस