
दाङ। तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये थप दुईजना बैँक सञ्चालक समितिका सदस्यहरु जनही १२ लाख धरौटीमा छुटेका छन्। उच्च अदालत तुलसीपुर दाङले वैँक सञ्चालक समिति सदस्य वेगमबहादुर भण्डारी, निर्मल देवकोटालाई धरौटीमा छोड्न आदेश दिएको सरकारी वकिल कार्यालय घोराहीले जानकारी दिएको छ ।
भण्डारी विहिवार अदालतमा हाजिर भएका हुन् भने देवकोटा केही दिन अगाडि मात्रै अदालतमा उपस्थित भएका थिए । अदालतमा वयान दिएर धरौटिमा छुटेका वैँक सञ्चालक समितिका सदस्यहरुले यो बारेमा आफुहरुलाई थाहा नभएको र बैँकका सिइओको मुख्य जिम्मेवारी हुने भन्दै इन्कारी वयान दिएका थिए । प्रहरीले बैंकको १८ करोड हिनामिना प्रकरणमा यसअघि नै दुई महिना लाामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
सरकारी वकिल कार्यालयले कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो। मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य फरार सूचीमा थिए। त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो। यसअघि बैंकको १८ करोड रुपैयाँ हिनामिना प्रकरणका दोषी मध्य दुईजना जनही १२ लाख धरौटीमा छुटेका थिए ।
वैँकको १८ करोड हिनामिना प्रकरणको अभियोग खेपेका मध्ये सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकी जनही १२ लाख धरौटीमा छुटेका थिए । उच्च अदालत तुलसीपुर दाङले उनीहरुलाई यसअघि धरौटीमा छोड्न आदेश दिएको अदालतका शाखा अधिकृत मानबहादुर विष्टले जानकारी दिए । त्यसपछि मात्रै सञ्चालक समिति अध्यक्ष बुढाथोकी र सदस्य बुढाथोकी दुबै जना अदालतमा उपस्थित भएका हुन्।
बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी ,ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ। यसअघि नै पक्राउ परेकामध्ये बैंकका म्यानेजरसहित १३ जना कर्मचारी र खातावाला समेत गरी पाँच जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। त्यसमध्ये चारजना धरौटी र चारजना साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो ।
१८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये बैंकका सिइओ, सञ्चालक समितिका अन्य पदाधिकारी, बैंकका ऋण बोर्ड सदस्यहरू फरार छन्। त्यस्तै, हिनामिना प्रकरणमा मुद्दा दायर गरिएकामध्ये खाताको रकम दुरुपयोग गरेका केही ब्यक्तिहरु पनि फरार नै रहेका छन्। तर, फरार सुचिमा रहेका अन्य ब्यक्तिहरुको नाममा अदालतले प्रहरी मार्फत पक्राउ पुर्जी जारी गरेर व्यापक रुपमा खोजतलास गरेको बताएपनि कोही पक्राउ परेका छैनन् ।
हाल प्रहरीले ३५ दिने म्याद राखेर पक्राउ पुर्जी जारी गरेको छ । यसबीच सञ्चालक समितिका अध्यक्ष र सदस्य अदालतमा उपस्थित भएर धरौटिमा छुटेपनि अन्य केही भने अझै फरार नै रहेका छन् । सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दा अनुसार अझैंपनि तत्कालिन बेष्टर्न बैँकका सञ्चालकहरु मध्ये बैंकका ऋण वोर्डका सदस्य खड्ग बुढाथोकी, सञ्चालक समितिका सदस्यहरु शेषमणि गौतम फरार नै रहेका छन् । बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सिइओ लगाएको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा समेत परेको छ।
प्रतिक्रिया दिनुहोस