
काठमाडौं । पर्यटक भिसामा नेपाल आएर शंकास्पद गतिविधि गरेको अभियोगमा प्रहरीले करिब ७८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा काठमाडौंका विभिन्न क्षेत्रमा खानतलासीमा जुटेको प्रहरीले सोमबार दिउँसोसम्म करिब ७८ जना विदेशीलाई पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा खानतलासी शुरु गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अहिले पनि खानतलासीको काम जारी रहेको जानकारी दिए ।
‘पर्यटक भिसामा नेपाल आएका विदेशीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खानतलासी शुरु गरिएको हो । अहिले पनि छापा हान्ने क्रम जारी छ,’ एसएसपी सुवेदीले भने ।
पक्राउ परेकाहरूलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ ।
गत असोजमा महानगरीय प्रहरी अपराध महाशाखाले नेपालका बैंक तथा वित्तीय संस्थाको प्रविधि ह्याक गरी ५ अर्ब रुपैयाँभन्दा धेरै रकम विदेश लैजाने योजनामा संग्लन दर्जन चिनीयाँ नागरिकलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस