
काठमाडौं । शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न लगानीकर्तामाथि दबाब पर्न थालेको छ । वित्तीय संस्थाले पुस मसान्तभित्र ब्याज तिर्न दबाब दिन थालेपछि लगानीकर्ताहरुले शेयर बिक्री गर्न थालेका हुन् ।
जसका कारण शेयर थोरै अंकले ओरालो लाग्न सक्ने सम्भावना देखिएको छ । हिजो मंगलबार सामान्य अंकले नेप्से ओरालो लाग्नुलाई पनि यही कारणको रुपमा लिइएको छ ।
बैंक÷वित्तीय संस्थाहरू अहिले पुससम्मको वित्तीय विवरण प्रकाशित गर्ने तरखरमा छन् । त्यसअघि नै ब्याज भुक्तानी गर्नुपर्ने बाध्यता शेयर लगानीकर्तालाई छ ।
बैंक/वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ताहरु शेयर खरिद गर्नेतिरभन्दा बिक्री गर्नेतिर लागेका छन् ।
पुस मध्यतिर शेयर बिक्रीको चाप बढ्ने र शेयर मूल्य पनि घट्न सक्ने भएकाले लगानीकर्ताहरू त्योभन्दा पहिले नै शेयर बिक्री गरेर ब्याज बुझाउने तयारीमा लागेका छन् । उनीहरु मानसिक रूपमा पुस मसान्तकोे प्रभाव पर्नुअघि नै शेयर बिक्रीको तयारीमा देखिएको धितोपत्र बोर्डका एक कर्मचारीले बताए । ‘बैंक/वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ताहरु शेयर खरिद गर्नेतिरभन्दा बिक्री गर्नेतिर लागेका छन्,’ उनले भने, ‘बैंकले ब्याज भुक्तानी गर्न दबाब दिएका कारण पनि शेयर बजारमा गिरावट आएको छ ।’
लगानीकर्तालाई पुस मसान्तको प्रभाव आगामी साता अझै बढी पर्ने ब्रोकरको एक ब्रोकरले बताए । ‘लगानीकर्ताहरु पुस मसान्तको प्रभाव पर्नुअघि नै सजग भएको देखिन्छ,’ उनले भने ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लाग्नुको एउटा कारणमा पुस मसान्तको प्रभावलाई लिने गरिन्छ । नेप्से परिसूचक मंगलबार २.३७ अंकले घटेका कारण पनि लगानीकर्ता ब्याजको दबाबमा परेको संकेत मिल्छ ।
बैंक÷वित्तीय संस्थाहरुले ८–१० प्रतिशत ब्याजदरमा शेयर धितो राखी लगानीकर्तालाई ऋण दिएका छन् । सुरक्षित लगानी भएको भन्दै उनीहरुले शेयर धितोमा ऋण लगानी गरिरहेका छन् ।
आर्थिक परिसूचकहरू सकारात्मक रहेकाले बजार घट्ने सम्भावना कम रहेको शेयर विश्लेषकाे भनाइ छ ।
शेयर बजारमा गिरावट आउनुमा ब्याज भुक्तानीको कारणमात्र नभएको एक शेयर विश्लेषकले बताए। आर्थिक परिसूचकहरू सकारात्मक रहेकाले बजार घट्ने सम्भावना कम रहेको उनको भनाइ छ । ‘प्रतिफल, वातावरणलगायत लगानीका लागि चाहिने सबै परिसूचक सकारात्मक भएकाले बजार घट्नुपर्ने कारण छैन,’ उनी भन्छन्, ‘अन्य देशका शेयर बजार उकालो लागिरहँदा नेपालको घटनुपर्ने अवस्था छैन ।’ विकासका सम्भावना बढेका पनि शेयर उकालो लाग्ने दाबी उनको छ ।
नेपाल स्टक एक्चेन्ज (नेप्से)का अधिकारीहरु भने नेप्से परिसूचक घट्नुको कारण नभएको बताउँछन् । अधिकांश कम्पनीले साधारणसभा सकेको र उनीहरुले उपलब्ध गराउने लाभांश पनि वितरण गरिसकेकाले थप प्रतिफल पाउन १ वर्ष पर्खनुपर्ने अवस्था छ । यसले पनि शेयर बजारलाई केही हदसम्म प्रभाव पारेको बताइन्छ ।
छोटो समयका लागि खरिद गर्ने लगानीकर्ताले शेयर बिक्री गरिरहेको र दीर्घकालीन लगानीकर्ताले बजार घट्नुलाई अवसरको रुपमा लिएर शेयर खरिद गरिरहेको ब्रोकरहरूको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्ने धेरै भएकाले ब्याज तिर्नका लागि शेयर बिक्री गर्दा बजार घटेको विश्लेषकहरु बताउँछन् । संस्थागत लगानीकर्ताको प्रभाव नभएसम्म यस्तो समस्या देखिइरहने उनीहरूको भनाइ छ ।
आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय वितरणमा अधिकांश कम्पनीले नाफा वृद्धि भएको र दोस्रो त्रैमासमा पनि कम्पनीहरुको वित्तीय विवरण राम्रो आउने सम्भावना भएकाले बजार धेरै नघट्ने विश्लेषक बताउँछन् । नेप्से परिसूचक ११६६.२१ अंकमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस