
काठमाडाैं । मौसम चिसो भएपनि अबको गभर्नर को हुने भन्ने चर्चाले वित्तीय क्षेत्र तातेको छ । गभर्नरको लिगलिगे दौडमा रहेका पनि साना तिना कोठे गफदेखि प्रधानमन्त्री केपी ओलाीसम्मलाई भेट गर्न पुगेका छन् । गभर्नर को बनाउनु पर्छ र को हुन सक्छ भन्ने आम चर्चा चलिरहेको छ । अहिले बजारमा हट केकका रुपमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोपका बारेमा के हुने र आगामी गभर्नर को हुने भन्ने बिषय नै जोडतोडले उठदै आएको छ ।
आगामी गभर्नरको नियुक्तिलाई लिएर एक गुटले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । काग्रेसको कोटाबाट डेपुटी गभर्नर भएका श्रेष्ठमाथि लागेको अभियोगपछि उनी गभर्नरको दौडमा पछि परेका छन् । यतिबेला गभर्नरको दौडमा रहेकाहरु राजनीति च्यानल मिलाउन ब्यस्त देखिन्छन । नेकपा नेतृत्त्वको सरकारमा रहेकाले पार्टीगत रुपमा नेकपामा आस्था राख्नेहरु मध्येबाट नै कोही एक गभर्नर बन्ने निश्चित भएको छ ।
यतिबेला गभर्नरको दौडमा बहालवाला डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई प्रमुख दाबेदारको रुपमा लिइएको छ । शिवाकोटीलाई राष्ट्र बैंकभित्र नेकपाको नेताको रुपमा समेत लिइने गरिएको छ । त्यसअर्थमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आशिबाद पाएको अवस्थामा उनी गभर्नर बन्ने सम्भावना अधिक रहेको बताइन्छ ।
त्यस्तै प्रधानमन्त्री ओलीको प्रस्तावमा वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी पनि गभर्नर बन्न सक्नेछन । रेग्मीले मुखै फोडेर प्रधानमन्त्री ओलीसँग गभर्नर पद मागेको बजार चर्चा छ । त्यस्तै डा. मिनबहादुर श्रेष्ठलाई पनि आगामी गभर्नरको रुपमा हेर्न थालिएको छ । नेकपाका अध्यक्ष रहेका पुष्प कमल दाहाल प्रचण्डको निर्णय हाबी भएको अवस्थामा श्रेष्ठनै अबको गभर्नर बन्ने बजार चर्चा छ ।
प्रचण्ड प्रधानमन्त्री हुँदा योजना आयोगका उपाध्यक्ष रहेका श्रेष्ठ राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक समेत हुन । त्यस्तै अर्थसचिव डा. राजन खनाल र लगानी बोर्डको सिइओ महाप्रसाद अधिकारी पनि गभर्नरको दौडमा अगाडि नै देखिएका छन्।
गभर्नको दौडमा राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशकहरु भाष्करमणी ज्ञावली, भिष्मराज ढुङ्गाना, बासुदेव अधिकारी लगायत छन् । ढुंगाना धितोपत्र बोर्डको अध्यक्षको दौडमा पनि छन् । उनी बोर्डको अध्यक्ष भए गभर्नरको दौडबाट उनी बाहिरिने छन् । अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडाका अति निकट व्यक्ति हुन् । अहिलेका अर्थमन्त्री खतिवडा पहिले गभर्नर हुँदा अधिकारीलाई उपल्लो पदमा लैजान व्यवधान पुर्याउने कानुनी प्रावधान परिवर्तन गर्दै कार्यकारी निर्देशकसम्म पुर्याएका थिए । अर्थमन्त्री खतिवडाले अधिकारीलाई नै गभर्नर बनाउन चाहिरहेको स्रोतको भनाइ छ।
राष्ट्र बैंकको वर्तमान गभर्नर डा. चिरिन्जीवी नेपालको कार्यकाल अगामी चैतमा सकिदै छ । सरकारले उनको कार्यकाल सकिन १ महनिा अगाडी नै गभर्नर नियुक्ती गरिसक्नुपर्ने हुन्छ । गभर्नर नियुक्त गर्नको लागि बहालवाल अर्थमन्त्रीको नेतृत्वमा सिफरिस समिति बन्ने छ । उक्त समितिले बहालवाला डेपुटी गभर्नर १ जना सहित ३ जनाको नाम मन्त्रीपरिषदलाई सिफारिस गर्छ । सिफारिस गरिएका मध्यबाट एकलाई गभर्नर नियुक्त गर्ने ब्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस