
काठमाडौं, वैशाख २५ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म १८ वटाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।
अहिलेसम्म प्रकाशित बैंकहरुको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा यसपटक निक्कै सुधार भएको देखिन्छ । यस अवधिमा सबै बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । चुक्ता पुँजी वृद्धिसँगै वाणिज्य बैंकहरुको नाफामा पनि उल्लेख्य सुधार भएको पाइन्छ । अब बैंकहरुले अर्ब रुपैयाँ कमाए भन्दा पनि २–३ अर्बभन्दा माथि कमाइ भयो भन्ने अवस्था आएको छ ।
चालू आवको तेस्रो त्रैमासमा खुद मुनाफा सबैभन्दा बढी कमाउने अर्थात ३ अर्ब रुपैयाँ पुर्याउनेमा नबिल बैंक रहेको छ । यसले ३ अर्ब १९ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकले जम्मा ३ दशमलव १७ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
त्यस्तै २ अर्ब रुपैयाँ पुर्याउने नेपाल बैंक र एभरेष्ट बैंक रहेका छन् । १८ वटा कम्पनीमा सबैभन्दा कम नाफा कमाउनेमा कुमारी बैंक रहेको छ । जसको नाफा १ अर्ब ३२ लाख रुपैयाँ कमाएको छ ।
अघिल्लो वर्षको तुलनामा अत्याधिक नाफा बढाउनेमा मेगा बैंक रहेको छ । जसले १३१ दशमलव ३३ प्रतिशतले नाफा वृद्धि गरी १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५२ करोड ४९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
१८ वटा कम्पनीमध्ये नेपाल बैंकले मात्र नाफा घटाएको छ । जसले १२ दशमलव ५५ प्रतिशतले नाफा घटाएर २ अर्ब २४ करोड रुपैयाँ मात्रै कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
बैंकहरुको नाफाको स्थिति
प्रतिक्रिया दिनुहोस