
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आइतवार १८ औं वार्षिक साधारण सभा बोलाएको छ । यस वर्ष कम्पनीले शेयरधनीहरुका लागि २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश प्रस्ताव सभा पेश गर्दैछ ।
कम्पनीले हाल कायम ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँको आधारमा उक्त लाभांश दिन लागेको हो । सभा विहान ११ बजे एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा शुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १ गतेदेखि बुक क्लोज गरेकाले मंसिर ३० गतेसम्म शेयर कायम गरेका सदस्यहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको २६ प्रतिशत बोनस शेयरमा पुस १ गते मूल्य समायोजन गरेको थियो । नेप्सेले बोनस पश्चात रू. ८१८ दशमलव २५ प्रतिशत मूल्य तोकेको हो । यो मूल्य बिहीवारसम्मको कारोबारमा रू.८६२ कायम भएको छ । यस दिन कम्पनीको मूल्य ८रुपैयाँले बढेको हो । मूल्य समायोजन पश्चात पनि कम्पनीको मूल्य बढेको छ ।
यस कम्पनीले चालू आर्थिक वर्षको व्यवसायिक योजना बमोजिम ६१ ओटा जिल्लामा ५ ओटा शाखा तथा उपशाखा कार्यालय थप गरी १४३ ओटा कायम गरिसकेको छ ।
यस आर्थिक वर्षभित्र १८ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह र १० अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गर्ने कम्पनीको लक्ष्य रहेको छ । सोही लक्ष्य बमोजिम कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.१५ अर्ब २९ करोड कर्जा प्रवाह र रू.७ अर्ब ९९ करोड निक्षेप संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस