काठमाडौं । कुमारी बैंकले दुई आर्थिक वर्षको लाभांस पारित गरेको छ । विहिबार बैंकको १७ औं तथा १८ औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।
साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३/०७४ को लागि १२.७५ प्रतिशत बोनस शेयर र आ.व. २०७४÷०७५ को लागि ८.५० प्रतिशत बोनस शेयर गरी जम्मा २१.२५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुनेछ ।
बैंकको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड रुपैयाँ प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ४२ करोड तथा रु.१ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस