aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लिस्टेड कम्पनीलाई सुशासन देखाउन सकस, आज एकैदिन २५ कम्पनीको साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
लिस्टेड कम्पनीलाई सुशासन देखाउन सकस, आज एकैदिन २५ कम्पनीको साधारणसभा

काठमाडौं। नेपाल स्टक एक्चेन्जमा सूचीकृत कम्पनीले पुस महिनासम्म वार्षिक साधारणसभा गर्नुपर्ने वाध्यता छ । त्यही बाध्यताका कारण आज महिनाका अन्तिम दिन धेरै कम्पनीलाई एजीएमको चटारो परेको छ । 

आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ । त्यसैले पनि सूचीकृत कम्पनीहरुलाई अन्तिममा आएर यसरी चटारो परेको हो । तथापी धेरै कम्पनीले कानुनी प्रावधान अनुसारको समय संकिंदा पनि विभिन्न कारणले साधारण सभा गर्न सकेका छैनन् । समयमा काम गर्न नसक्नुले कम्पनीको संस्थागत सुशासनमा कमजोरी रहेको देखाउँछ ।

आज २५ वटा सूचीकृत कम्पनीले एजीएम गर्दैछन् । अन्तिम समयमा एकै पटक वार्षिक साधारणसभा गर्दा सभा गर्ने ठाउँको समेत अभाव भएको छ । आज साधारण सभा गर्नेहरुमा विकास बैंक, फाइनान्स र लघुवित्तको संख्या बढी छ । आज ७ वटा विकास बैंकले साधारणसभा गर्दैछन् । लुम्बिनी, ज्योति, सिन्धु, कञ्चन, ग्रीन, सांग्रिला र गण्डकी विकास बैंकले एजिएम गर्न लागेका हुन् ।

त्यसैगरी, ७ वटा फाइनान्स कम्पनीले पनि आजै साधारणसभा गर्दै छन्। युनाइटेड, सिटी, गुहेश्वरी, गुडविल, मञ्जुश्री, आइसीएफसी र समृद्धि फाइनान्सले साधारणसभा गर्दै छन् । साथै, ७ लघुवित्त संस्थाको पनि आजै साधारणसभा सम्पन्न हुँदैछ । समता, मिथिला, फरवार्ड, समिट, सर्पोट, उन्नति र नेपाल सेवाले एजिएम गर्न लागेका हुन् ।

आज साधारण सभा गर्ने अन्य कम्पनीहरुमा २ वटा जलविद्युत कम्पनी छन् । बरुण र छ्याडदी हाइडोपावर कम्पनीले आज एजिएम गर्न लागेका हुन् । यसका साथै, तारागाँउ होटल र नेपाल दुरसञ्चार कम्पनीले पनि आज नै एजिएम गर्दै छन् ।

आज कुनै पनि वाणिज्य बैंकले एजिएम राखेका छैनन् । बिमा कम्पनीको भने यसबीचमा एउटैको पनि एजीएम भएको  छैन। नेपाल वित्तीय  प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार पार्न समय लागेकाले पनि वार्षिक साधारणसभा ढिला भएको बिमा कम्पनीहरुको भनाइ छ । 
पुस मसान्त भित्र वार्षिक साधारणसभा गर्ने कम्पनीलाई राम्रो मनिन्छ । त्यसैले पनि पुस महिनाभित्र वार्षिक साधारणसभा गर्न सबै सूचीकृत कम्पनीलाई हतारो हुन्छ ।

कतिपय कम्पनीले साधारणसभा सम्पन्न गरेर लगानीकर्ताको खातामा लाभांश पठाइसकेका छन् । कम्पनीहरुले गत असोजदेखि नै साधारणसभा गर्न थालेका हुन् । आर्थिक वर्ष समाप्त भएपछि वित्तीय विवरण सार्वजनिक गर्ने, त्यसपछि लाभांश प्रस्ताव, साधारणसभाका लागि बुक क्लोज र साधारण सभा मिति तय गरेर घोषणा गरिन्छ । सभाले प्रस्तावित लाभांश पारित गरेपछि लगानीकर्ताको खातामा पठाउने क्रम सुरु हुन्छ । 

नेप्सेमा अहिले २१५ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभाको जानकारी सभा हुनु भन्दा २१ दिन पहिले दिनुपर्ने व्यवस्था छ । 

लिमिटेड कम्पनीहरुमा अन्तिम समयमा आएर काम गर्ने प्रवृत्ति हावी भएको छ । चालु आर्थिक वर्ष सुरु भएको ६ महिना हुन लाग्दा पनि निकै थोरै कम्पनीले मात्र वार्षिक साधारण सभा सम्पन्न गरेका छन्। आम लगानीकर्ताले साधारणसभा छिटो सम्पन्न होस र लाभांश वितरण पनि छिटो गरुन भन्ने चाहना राख्ने गर्छन् । समयमा लाभांश  दिने कम्पनीहरुप्रति लगानीकर्ताको विश्वास बढने गर्छ । 
 
अन्तिम समयमा आएर हतारहतारमा साधारणसभा गर्दा लगानीकर्ता कुन कम्पनीको साधारणसभामा जाने र कुनमा नजाने भनेर रनभूल्लमा परिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस