aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पैंतालिस प्रतिशतले बढाए बैंकहरुले लाभांश, आगामी वर्ष अझै बढ्ने देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
पैंतालिस प्रतिशतले बढाए बैंकहरुले लाभांश, आगामी वर्ष अझै बढ्ने देखियो

काठमाडौं।  बैंकहरुले गत वर्षभन्दा यो वर्ष करिव ४५ प्रतिशत लाभांश बढाएका छन् । अधिकांश बैंकले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण यो वर्ष लाभांश बढी दिएका हुन् ।

बैंकहरुले गत आर्थिक वर्षमा कमाएको नाफाले यस वर्ष औसतमा ६.०५ प्रतिशत लाभांश वितरण गरिरहेका छन् । जवकि अघिल्लो आर्थिक वर्षमा बैंकहरुले कमाएको नाफाबाट गत वर्ष औसतमा करिव ४.४५ प्रतिशत लाभांश मात्र वितरण गरेका थिए । गएको वर्षको नाफाबाट लाभांश घोषणा गरेका २६ वाणिज्य बैंकहरुको तथ्यंकले यस्तो देखाएको हो ।

समग्रमा हेर्दा गत वर्ष भन्दा औसतमा ४५ प्रतिशतको हाराहारीमा बैंकहरुले लाभांश बढाएको देखिन्छ । प्रत्येक बैंकको छुट्टाछुट्टै हेर्ने हो भने चाहिँ फरक फरक देखिन्छ । 

उदाहरणका लागि सिटिजन्स बैंकले गत वर्ष भन्दा तेब्बर लाभांश दिएको छ । सटिजन्स बैंकले यो वर्ष नगद र बोनस गरी कुल १५ प्रतिशत लाभांश दिएको छ । उक्त बैंकले यो वर्ष १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस वितरण गर्यो । गत वर्ष सिटिजन्स बैंकले वोनस र नगद गरी कुल ५.२७ लाभांश दिएको थियो । 

यसैगरी, एनआइसी एशिया बैंकले गत वर्षभन्दा यस वर्ष दोब्बरले बढी लाभांश दिन पुग्यो। उक्त बैंकले यो वर्ष कुल २१.०५ प्रतिशत लाभांश दियो। उक्त बैंकले ११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको छ । गत वर्ष उक्त बैंकले कर प्रयोजनका लागि नगद ०.५३ प्रतिशत र बोनस सेयर १० प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अन्य बैंकले पनि लाभांश बढाएका छन्  । तर, समग्रमा ४५ प्रतिशतको हाराहारीमा लाभांश बढ्न  गएको देखिन्छ । बैंकहरुबीच लाभांश कसले बढी वितरण गर्ने भन्नेमा प्रतिस्पर्धा चल्छ । २७ वटै वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याइसके पनि यस वर्ष वोनस र नगद लाभांश दुवै वितरण गरेका छन् ।

केही बैंकहरु जस्तै: स्टयाडर्ड चार्टर्ड, मेगा बाहेक धेरैले नगदसँगै बोनस सेयर पनि दिए । चालु आर्थिक वर्षमा कमाएको नाफाले आगमी वर्ष अझै धेरै लाभांश वितरण गर्ने योजना बैंकले बनाएका छन् । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७५/०७६ मा बाँडेको लाभांश भन्दा आर्थिक वर्ष २०७६/०७७ मा बाडँने लाभांश बढाउने अनुमान गरिएको छ । बैंकहरुले चालु आर्थिक वर्षको तीन महिना (असोजसम्म) गरेको नाफाका आधारमा त्यस्तो संकेत देखिएको हो ।

गत वर्ष वाणिज्य बैंकहरुले अहिले भन्दा कम लाभांश वितरण गरेका थिए । अगिल्लो आवमा गरेको बैंकको नाफाले यो वर्ष गत वर्ष भन्दा बढी लाभांश बाँडेका  हुन् । चालु अर्थिक वर्षको आम्दानीले अर्को वर्ष बढी लाभांश वितरण गर्ने सम्भावना रहेको बैंकहरुको तेस्रो त्रैमासिक नाफाले देखाएको छ । 

प्रत्येक बैंकले चुक्ता पुँजी बढाएकाले बैंकको लगानी बढेको र त्यसबाट आम्दानी पनि बृद्धि भएको हुनाले बैंकको नाफा बढदै गएको हो । बैंकहरुको खुद नाफा बढेको हुनाले लाभांश वितरण गर्न सक्ने क्षमतामा पनि बृद्धि हुँदै गएको छ ।

लगानीयोग्य पुँजी अभाव खेपिरहे पनि बैंकहरुले नाफासँगै लाभांश पनि बढाउन पुगेका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ । 

यद्यपी, नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर कायम गर्नुपर्ने बाध्यता र लगानीयोग्य पुँजी कमीका कारण बैंकको नाफामा ठूलो वृद्धि गर्न नसकिएको बैंकरहरुले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस