
काठमाडाैं । आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर रु.५८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ ।
मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, मेची, तातोपानी र कन्चनपुर बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी, कन्चनपुर र रसुवा बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।
आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी रु.५३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।
२०७६ मंसिर महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क (Unit Value Index) ०.२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २.९ प्रतिशतले घटेको छ । २०७५ मंसिर महिनामा वार्षिक बिन्दुगत आधारमा ४.४ प्रतिशतले घटेको व्यापारको शर्त (Terms of Trade) २०७६ मंसिर महिनामा ३.२ प्रतिशतले बढेको छ ।
त्यस्तै, २०७६ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिब तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य बढेकोछ ।
प्रतिक्रिया दिनुहोस