
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ७७ दिनपछि पुनः काममा फर्किएका छन् । कात्तिक १८ गतेदेखि निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ सोमबारदेखि पुनः कार्यालय फर्किएका हुन् ।
एनसेललाई लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा सहयोग गरेको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सहयोग गरेको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न संयुक्त राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागु गर्न असहयोग गरेको लगायत आरोप उनीमाथि लागेको थियो । विभिन्न अनियमिततामा मुछिएपछि कार्तिक ३० मा बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको थियो ।
राष्ट्र बैंक सञ्चालक समितिले एक महिनाको म्याद तोकेर कात्तिक १८ गते सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुबोधकुमार कर्ण सदस्य रहेको छानबिन समिति बनाएको थियो । छानबीन समिति गठन भएपछि डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका थिए । यता, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री बास्कोटाले माघ २ गते विहीबार मन्त्री परिषद्ले गरेको सार्वजनिक गर्दै श्रेष्ठमाथि छानबिन भएको थियो, तर कैफियत फेला नपरेपछि सफाई दिने निर्णय भएको जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस