
काठमाडौँ । अर्थमन्त्री डा। युवराज खतिवडाले बैंकरहरुलाई नाफामुखी मात्र नबनी व्यवशायी मैत्री बन्न निर्देशन दिएका छन् । अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्रीले डाकेको छलफलमा भाग लिन मन्त्रालय पुगेका बैंकर्सले नाफा घटेको गुनासो गरेपछि उनले यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा सहभागी बैंकर्स एसोसिएसनका प्रतिनिधिहरुले स्प्रेड दरको नयाँ गणना विधिका कारण बैंकहरुको नाफा कम भएको भन्दै समाधानको अपेक्षा गरेका थिए । तर, सो बारे अर्थमन्त्रीले कुनै प्रतिक्रिया नदिएपनि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने ‘चिन्ता नगर्नुस’ भन्दै ढाडस दिएको एक सहभागीले बताए ।
मन्त्री खतिवडाले सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलको आयोजना गरेका थिए । तर, सो छलफलमा गभर्नर नगएर डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी राष्ट्र बैंकको तर्फबाट सहभागी भएका थिए ।
मन्त्रीले बैंकरहरुलाई व्यवसाय मैत्री क्रियाकलापलाई सघन रुपमा अगाडि बढाउन अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा समेत निर्देशन थिए । उनले मुलुकमा व्यवसायिक अनुकुलता विकास हुँदै गएकोले यस्तो बेला वैंक तथा वित्तीय संस्थाहरुले निर्वाह गर्नुपर्ने भूमिकाको समेत चर्चा गरेका थिए ।
उनीहरुले बैंक तथा वित्तीय संस्थाहरु वित्तीय प्रणालीका महत्वपूर्ण पक्षका रुपमा बताउँदै ति संस्था सञ्चालन, नियमन तथा राष्ट्र बैंकले समय समयमा ती संस्थाहरुलाई दिइएका निर्देशनको कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत जिज्ञासा राखेका थिए ।
सो बैठकमा बैंकको व्याजदर, सेवा शुल्क लगायतका अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो । खतिवडाले हाल सम्भावनायुक्त लगानी क्षेत्रको रुपमा विकसित भएको पूर्वाधारमा लगानी विस्तार गर्न, व्याजदर निर्धारणको समस्या समाधान गर्न, बैंकले लिने सेवा शुल्कको समिक्षा गर्न समेत निर्देशन दिएका थिए ।
उनले वाणिज्य बैंकहरुबाट हेजिङ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्न, विदेशी विनिमयको व्यवस्थापनलाई थप प्रभावशाली बनाउन एवम् नेपाल राष्ट्र बैकको नियमनकारी भूमिकालाई प्रभावकारी र समयसापेक्ष बनाउन समेत निर्देशन दिएका थिए ।
खतिवडाले सबै क्षेत्र मिलेर मुलुकमा केही परिवर्तन ल्याउनेगरी काम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकस् एशोशियसनका पदाधकारीलाई समक्ष आग्रह गरेका थिए । उनले सरकारले अघि सारेका नीति नियम तथा योजनाहरुलाई कार्यान्वयनको चरणमा देखा परेको समस्या समाधानको लागि सदैव तयार रहेको जनाउदै सम्बन्धीत निकायलाई कामको प्रगति र समस्याको बारेमा जानकारी गराउन समेत निर्देशन दिएका थिए ।
छलफलमा समग्र आर्थिक परिसूचकहरु तथा वित्तीय परिसूचकहरुको पछिल्लो अवस्था, नेपाल राष्ट्र वैकको निर्देशनहरुको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन एवम् तरलता व्यवस्थापनको पछिल्लो अवस्था बारेमा समेत छलफल भएको एक सहभागीले बताए ।
वैकवाट ऋण लिने ऋणीले आन्तरिक राजस्व कार्यालयमा पेश गरेको विवरण र वैकमा प्रस्तुत गरेको वित्तीय विवरणको बीचमा देखिने अन्तरका सम्बन्धमा समेत छलफल भएको थियो । यस सम्वन्धमा देखिएका समस्याहरु समाधान गरी वित्तीय अनुशासन र कारोवारलाई थप मर्यादित बनाउने विषयमा समेत छलफल केन्द्रित भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । कर्जा प्रवाह गर्दा खोजिने कर चुक्ता प्रमाणपत्रको कार्यान्वयनमा देखिएका समस्याहरु समाधान गर्ने विषयमा पनि सो बैठकमा छलफल भएको थियो ।
बैठकमा अर्थ मन्त्रालयका सचिव राजन खनाल, राजश्व सचिव शिशिरकुमार ढुङ्गानाका अलावा बैंकर एसोसिएसनका नवनियुक्त पदाधिकारीहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस