
काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक विकासको सम्बन्धमा विमर्श गर्दा तर्क संगत कुरा गर्न अनुरोध गरेका छन्। मंगलबार कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन्।
‘वैदेशिक रोजगारीमा जाने संख्या घटाउ, रेमिट्यान्स पनि एकदमै धेरै ल्याउ यो हुनै सक्दैन' उनले अगाडी थपे, 'व्यापार घाटा एकदमै कम गर, राजस्व पनि एकदमै धेरै बढाइ हाल भनेर कसरी हुन्छ ?' अर्थमन्त्रीले आर्थिक नियमसँग मेल नखाने यस्ता थप उदाहरण पेश गर्दै प्रश्न गरे। 'निक्षेपको ब्याज धेरै देउ, कर्जाको ब्याज अहिलेको भन्दा कम राख भन्ने जस्ता कुराले हामी कहिल्यै पनि लजिकल टुंगोमा पुग्दैनौं’, खतिवडाले थपे।
रेमिट्यान्स बढी चाहिने, राजस्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने कुरामा उनले जोड दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको आर्थिक अवस्था सवल र सुदृढढंगले अगाडी बढी रहेको उनले दाबी गरे। अहिले व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको भन्दै उनले सवै लगानीकर्ताहरुलाई ढुक्कसँग लगानी समेत आग्रह गरेका थिए ।
उनले १५ अर्ब पुँजी भएका बैंकले २/३ अर्ब रूपैयाँ नाफा कमाउनु धेरै नभएको बताउँदै बैंकहरूले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरे । अर्बमा नाफा देखिएपनि प्रतिशेयर आम्दानी कम हुने भन्दै उनले थपे,‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाड्नु पर्यो भनेपनि २ अर्बभन्दा बढी नाफा त गर्नै पर्यो।'
बैंकको नाफा २ अर्ब भएपछि व्यवसायीहरूलाई आँखा लाग्ने र 'ओहो २/२ अर्ब नाफा, ३/३ अर्ब नाफा' भन्ने गरेको उनले बताए। उनले ब्यापारीलाई त्यो आम्दानी गर्न कति पुँजी लगानी भएको छ भन्ने हिसाब गर्न आग्रह गरे।
सरकारले सरकारी बैंकलाई सक्षम बलियो प्रतिष्पर्धी बैंकको रुपमा देख्न चाहेको हुँदा बैंकले चाहे अनुसारको आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता गरेका छन्। बैकंहरुलाई कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गर्दै उनले कृषि विकास बैंकले लगानी गरेको कुल कर्जाको ८० प्रतिशत १० लाख भन्दा कमको कर्जा हुनुले साना तथा मझौला कर्जामा बैंकको ध्यान गएको स्पष्ट भएको बताएका थिए। निजी क्षेत्रका बैंकहरुलाई पनि यस्तो कर्जा बढाउन उनले सुझाब दिए ।
अर्थमन्त्रीले डिजिटाईजेशन पद्धतिबाट बैंकका दुर्गम स्थानमा रहेका कृषि विकास बैंक लि.का शाखा तथा एक्सटेन्सन काउण्टरहरु (शाखा बर्जू, आमबारी, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउं, सुकटिया, ओदानकु महावै र एक्सटेन्सन काउण्टर धुलिखेल) गरी १६ वटा कार्यालयको समेत समुदघाटन गरेका छन् ।
वार्षिक उत्सव कार्यक्रममा नेपाल बैकर्स एशोसियशनका अध्यक्ष भुवन कुमार दाहालली आगामी दिनमा थप बलियो बैंकको रुपमा रहन सकोस भनि शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस