
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सहभागी हुन बैङ्कका कर्मचारीहरूले असहमति जनाइरहेका बेला उनीहरूको सेवा सुविधा नघट्ने कुराको प्रत्याभूति दिइएको छ ।
राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू समेत सो कोषमा आबद्ध भइसकेको जानकारी दिँदै दुबिधामा नरहन बैंकरहरुलाई आह्वान गरेका हुन् ।
राष्ट्रिय वाणिज्य बैङ्कको ५५ औँ वार्षिकोत्सवमा बोल्दै सिवाकोटीले बैङ्कका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा दोहोरो कर प्रणाली भएको भन्दै गरेको गुनासोलाई सरकारले संशोधन गर्न लगेको बताएका हुन् ।
सामाजिक सुरक्षा सम्बन्धी ऐनमा सो कोषमा सहभागी भए बापत खाइपाइ आएको सेवा सुविधामा कुनै कटौती नहुने कुरा स्पष्ट रूपमा उल्लेख भएको उनले जिकिर गरेका छन् । उनले भने,‘बैङ्क वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई दिँदै आएको सुविधा निरन्तर रूपमा दिन सक्छन्’ ।
दोहोरो कर सम्बन्धी अन्यौलताबारे स्पष्ट पार्दै उनले थपे ‘ अहिले र पछि दोहोरो करको जुन कुरा छ त्यो संशोधन गर्न मन्त्री परिषद्मा पठाइसकिएको छ अब त्यो हट्छ ।’
सामाजिक सुरक्षा कार्यक्रम नितान्त नयाँ कार्यक्रम रहेको र योगदानमा आधारित पेन्सन उपलब्ध गराउने यसको उद्देश्य रहेको उनले बताए । निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुरहरू लक्षित यो कार्यक्रम रहेकोले अहिले नै बैंकहरुलाई नआत्तिन समेत उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस