
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७ करोड ९९ लाख रुपैयाँ बढी कमाएको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ६७ करोड १० लाख खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११ करोड ३९ लाख रुपैयाँ बढेर २ अर्ब १५ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
८ अर्ब ५१ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको वेसिक प्रतिशेयर आम्दानी २ पैसा बढेर ३५ रुपैयाँ ६५ पैसा कायम भएको छ भने डाइलुटेड प्रतिशेयर आम्दानी ३ पैसा बढेर ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ।
पुस मसान्तसम्ममा बैंकको जगेडा कोषमा ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ५६ करोड १ लाख रुपैयाँ र शेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले ८६ करोड ४९ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ।
प्रतिक्रिया दिनुहोस