aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ह्वाट्स्एप अब लाखौँ मोबाइल फोन सेटमा नचल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
ह्वाट्स्एप अब लाखौँ मोबाइल फोन सेटमा नचल्ने

एजेन्सी । सन्देश आदानप्रदानका लागि विश्वभरि प्रयोग हुने ह्वाट्स्एप अब लाखौँ स्मार्टफोनमा नचल्ने भएको छ ।

पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको उक्त एपले काम नगर्ने बनाएको जनाएको छ ।

ह्वाट्स्एपका अनुसार आफ्ना प्रयोगकर्ताको गोप्यताको सुरक्षा गर्न उक्त कदम चालेको हो ।

यो कदमबाट एन्ड्रोइड २.३.७ र आईओएस ८ (iOS 8) वा तीभन्दा पुराना प्रणाली भएका फोनहरू प्रभावित हुने भएका हुन्छ ।

ह्वाट्स्एपले असङ्गत मानेका पुराना प्रणालीहरू हिजोआज नयाँ फोनमा हालिएको हुँदैन ।

ह्वाट्स्एप चलाउन अधिकांश प्रयोगकर्ताले आफ्नो मोबाइलको अपरेटिङ सिस्टम अद्यावधिक गर्न सक्छन् ।

तर iOS 7 मात्र स्वीकार्ने आईफोन 4s जस्ता निश्चित फोनमा उक्त एप नचल्ने भएको छ ।

सीसीएस इन्साइट्का विश्लेषक बेन वुडका अनुसार आफ्नो सेवा सुरक्षित रहेको सुनिश्चित गर्न ह्वाट्स्एपसँग योबाहेक अरू कुनै विकल्प थिएन।

गत दशकमा सर्वाधिक डाउनलोड भएका एपमध्ये चौथो स्थानमा परेको ह्वाट्स्एपले सन् २०१७ मै आफ्ना प्रयोगकर्तालाई सम्भावित परिवर्तनबारे सूचना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस