
काठमाडाैं । कृषि विकास बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटे पनि नाफा डेढ अर्ब नाघेको छ ।
समिक्षा अवधिसम्ममा बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड ३६ लाख रुपैयाँ अर्थात २२.८० प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटेपनि निष्क्रिय कर्जा घटाई अन्य आम्दानीमा सुधार गरेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो । पुस मसान्तसम्ममा १ खर्ब २७ अर्ब २१ करोड निक्षेप सङ्कलन गरी १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३२ करोड ३३ लाख रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २७ लाख ४८ हजार रुपैयाँ बढेर १ अर्ब ९८ करोड ४४ लाख पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.५० प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा झरेको छ । यससँगै गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५० करोड १२ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज घटेर १७ करोड ७३ लाखमा सीमित भएको छ। यसका साथै, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ३३ करोड ९७ लाख बढेर ८४ करोड ९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी १४ करोड ८७ लाख रुपैयाँ बढेर १८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ रुपैयाँ ९६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ६ रुपैयाँ ५१ पैसा बढेर ३१ रुपैयाँ ४७ पैसा कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १२.०१ गुणा कायम भएको छ ।
१४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ र शेयरधनी कोषमा ४ अर्ब ४६ करोड २८ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस