काठमाडौँ। एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघ बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा एनएमबी बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बुद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।
बैंकले परम्परागत बैकिङ्गभन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्ना स्रोत र साधनलाई परिचालन गरिरहेको सीईओ केसीले बताएका छन्। उनले साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवर्द्धन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिदै आएको समेत अवगत गराएका थिए । सोही प्रयासको निरन्तरता स्वरुप शुक्रबार समझदारी भएको जानकारी के।सी।ले गराए । उनले ३ सय जना महिला उद्यमीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिने घोषणा समेत गरेका छन् ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याणले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङको सिद्धान्तमा उभिएको बताउदै नेपाल सरकारको समृद्ध नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न यो समझदारी कोशेढुङ्गा सावित हुने बिश्वास व्यक्त गरे । महिलाहरुलाई उद्यमीशिलता बनाउन एनएमबि बैंकले सधै साथ दिने समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस