
काठमाडौं । आइ.सी.एफ.सि फाइनान्स लिमिटेडलेप फागुन १३ देखि ऋणपत्र विक्री खुला गर्ने भएको छ । वार्षिक १२ प्रतिशत ब्याजदरमा रू. २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमध्ये रू. १२ करोड बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी रू. ८ करोड बराबरको ८० हजार कित्तामध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी ७६ हजार कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट विक्री गर्ने भएको छ । यस ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १००० तोकिएको छ ।
वि.सं २०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि ७६ हजार कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ ।
आवेदकले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइ.सि.एफ.सि फाइनान्स लिमिटेडका केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी ट्रिपल बी माईनस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग माघ ६ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कम्पनीको ऋणपत्रमा छिटोमा फागुन १६ गते तथा ढिलोमा फागुन २७ गतेसम्म आबेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस